News

हेटौँडा सिमेन्ट उद्योगः उत्पादन छ, बिक्री छैन

हेटौँडा सिमेन्ट उद्योगः उत्पादन छ, बिक्री छैन

हेटौँडाः हेटौँडा सिमेन्ट उद्योग लिमिटेडले उत्पादन गरेको सिमेन्टको बजारसँगै बिक्री पछिल्लो समय घट्दै गएको छ । सरकारी स्वामित्वको उद्योगको उत्पादनले गत आर्थिक वर्ष २०७५–७६ को पहिलो छ महिनाको अनुपातमा चालू आर्थिक वर्ष २०७६÷७७ को पुस मसन्तसम्ममा बिक्रीमा ह्रास आएको हो ।

गुणस्तरीय सिमेन्ट उत्पादन गर्ने गरेको दाबी गर्दै आएको उद्योगको उत्पादनको बिक्रीमा आएको ह्रासले उद्योग थप आर्थिक जोखिम र सङ्कटमा पर्ने देखिएको छ । गत आर्थिक वर्षको पहिलो छ महिनामा भएको उत्पादनको हाराहारीमा उत्पादन भए पनि बिक्रीमा कमी भएको उद्योगका प्रशासनतर्फ नायब महाप्रबन्धक गणेश कोइरालाले जानकारी दिए । 

उनका अनुसार आइतबारसम्ममा ६ लाख २१ हजार ३३७ बोरा सिमेन्ट बिक्री भएको छ । उनले भने, ‘निजी सिमेन्टहरूसँग गर्नुपर्ने अस्वस्थ प्रतिस्पर्धा, पुराना मेसिनरी उपकरणका कारण बढ्दो लागतलगायतका कारणले र अपेक्षाकृत बजार प्रवद्र्धन गर्न नसक्दा हेटौँडा सिमेन्टको बिक्री र बजार खुम्चिएको छ ।’

गत आर्थिक वर्षको पहिलो ६ महिनामा झन्डै १० लाख बोरा सिमेन्ट बिक्री भएकोमा चालू आर्थिक वर्षको पहिलो छ महिनामा तीन लाख ८८ हजार ९३९ बोरा कम सिमेन्ट कम बिक्री भएको छ । गत आर्थिक वर्षमा यो अवधिमा ५४ हजार मेट्रिक टन सिमेन्ट उत्पादन गरेकोमा चालू आर्थिक वर्षमा ५० हजार मेट्रिक टन सिमेन्ट उत्पादन गरेको छ । उद्योगमा हाल ४० करोड रुपैयाँ मूल्य बराबरको सिमेण्ट मौज्दात रहेको जनाइएको छ ।

नेपाल विद्युत् प्राधिकरणको विद्युत् महसुल र सेवा प्रवाहमा रहेको विभेदकारी व्यवस्थाले उद्योगको उत्पादन लागत बढेको उद्योग व्यवस्थापनको दाबी छ । प्रशासनतर्फका नायब महाप्रबन्धक कोइरालाले लोडसेडिङ अन्त्य भएको बताइए पनि अझै नेपाल विद्युत् प्राधिकरणको डेडिकेटेड फिडरबाट विद्युत् उद्योगले प्रयोग गर्नुपर्ने बाध्यता रहेको बताउँदै यसले उत्पादन लागत बढाएको बताए । 

हेटौँडा सिमेन्ट र उदयपुर सिमेन्ट उद्योगमामात्र प्राधिकरणको डेडिकेटेड फिडरको विद्युत् महसुल बुझाउनुपर्ने यो व्यवस्था लागू छ, निजी उद्योगलाई छैन नायब महाप्रबन्धक कोइरालाले भने, ‘प्राधिकरणको अदूरदर्शी र विभेदकारी नीतिबाट हामी पीडित भएका छौँ ।’  पुराना मेसिनरी र उपकरण, मकवानपुरको मजुवास्थित आफ्नै खानीबाट चुनढुङ्गा उत्खननमा स्थानीयको अवरोध र जनप्रतिनिधिहरूको असहयोग, प्राधिकरणको महँगो विद्युत् महसुलले उद्योगमाथि चुनौती थपिएको नायब महाप्रबन्धक कोइरालाले बताए । 

स्थानीयको अवरोधका कारण मकवानपुरको मकवानपुरगढी गाउँपालिकाको मजुवास्थित खानीबाट उद्योगले यो वर्ष चुनढुङ्गा आपूर्ति गर्नसकेको छैन । उद्योगले चुनढुङ्गा खानीका लागि अधिग्रहण गरेको जग्गामा स्थानीयले अवरोध सिर्जना गरेपछि खानी उत्खननमा सहजताका लागि उद्योगको करिब तीन करोड रुपैयाँको लगानीमा खानी वरपरको क्षेत्रमा सडक निर्माण गरे पनि अझै स्थानीयको अवरोध कायमै रहेको छ ।

उद्योगको उच्च गुणस्तरको चुनढुङ्गा आपूर्ति गर्ने खानीमध्येको एक मजुवा खानी हो । मजुवा खानीबाट चुनढुङ्गा आपूर्तिमा अवरोध भएपछि जोगिमारामा आपूर्ति गरिएको चुनढुङ्गाले भरथेग गरेर उद्योग चलाइएको छ ।

उद्योगको क्षमता वृद्धिसहित स्तरोन्नति र बिक्री एवं बजार प्रवद्र्धनको योजना बनाउँदै गरेको बताउँदै नायब महाप्रबन्धक कोइरालाले माघ महिनाभित्रमा उद्योग मन्त्रालयमा प्रस्ताव पेस गर्ने तयारीमा रहेको जानकारी दिए । गोरखापत्र दैनिकबाट 

उत्पादन बिक्री हेटौँडा सिमेन्ट उद्योग

विशेष