गाडीमा गाँजा र अफिम बरामद, दुई जना पक्राउ
चितवन - मकवानपुरमा प्रहरीले पिकअप गाडीमा गाँजा र अफिम बरामद गरेकाे छ। उक्त गाँजा र अफिम ओसार पसार गर्दै गरेको अवस्थामा दुई जनालाई प्रहरीले पक्राउ समेत गरेको छ ।
पक्राउ पर्नेमा गाडी चालक बारा पर्सौनी गाउँपालिका वडा नं. ६ बस्ने बर्ष २८ का रामजी शाह तेली र बारा अर्दस कोतवाल गाउँपालिका २ का बर्ष ३० का प्रेम पटेल रहेका छन् । पूर्वपश्चिम राजमार्गको हेटौडा उपमहानगरपालिका– १९ नेवारपानीबाट हेटौडातर्फ जाँदै गरेको बा ३ च ५९९७ नम्वरको पिकअप भ्यान चेकजाँच गर्ने क्रममा ६३ किलो गाँजा र तीनसय ग्राम अफिमसहित उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
मकवानपुरका प्रहरी प्रमुख सुशीलसिंह राठौरका अनुसार उनीहरुले पिकअप गाडीको पछाडिको भागमा फल्स बटम बनाइ लुकाएर गाँजा र अफिम ल्याएका थिए । गाँजा तस्करीमा संलग्न हुनेहरुलाई लागु औषध नियन्त्रण ऐन २०३३ अनुसार दुई बर्षदेखि १० बर्षसम्म कैद र १५ हजारदेखि एक लाखसम्म जरीवाना र सवारी जफत हुने व्यवस्था छ ।
यस्तै अफिम तस्करीमा संलग्नलाई सोही ऐन अनुसार १५ बर्षदेखि जन्मकैद र ५ लाखदेखि २५ लाखसम्म जरीवाना र तस्करीमा संलग्न सवारी जफत गर्ने व्यवस्था छ । उनीहरु दुवैलाई सोही आधारमा मुद्धा चलाई थप अनुसन्धान अघि बढाइने एसपी राठौरले बताए ।नेकपाका सांसदहरुले गाँजालाई वैधानिक मान्यता दिनुपर्ने आवाज उठाइरहेका बेला सबैभन्दा बढी गाँजाखेती हुने मकवानपुर जिल्लामा प्रहरीले धमाधम गाँजा तस्करहरुलाई पक्राउ गरिरहेको छ ।