News

राष्ट्रियसभाले पत्रकारको परीक्षासम्बन्धी प्रावधान हटाउने

राष्ट्रियसभाले पत्रकारको परीक्षासम्बन्धी प्रावधान हटाउने

काठमाडौं – राष्ट्रिसभा अन्तरगत विधायन समितिले पारित गरेको पत्रकारको परीक्षासम्बन्धी प्रावधानलाई राष्ट्रियसभाले हटाउने गृहकार्य थालेको छ । अब परीक्षासम्बन्धी दफालाई हटाएर मात्र मिडिया काउन्सिल विधेयक प्रतिनिधिसभामा पठाइने भएको छ ।

तीन दिनअघि विधायन समितिको बैठकले पत्रकारले काउन्सिलमा परीक्षा दिएर लाइसेन्स लिनुपर्ने प्रतिवेदन तयार पारेर राष्ट्रियसभालाई बुझाएको थियो ।

पत्रकारलाई परीक्षा दिने व्यवस्था मिडिया काउन्सिल विधेयकमा राख्न नहुने अडान सञ्चारमन्त्री गोकुल बास्कोटाले समेत राखेका थिए । तर, नेकपाकै सांसदहरुको जोडबलमा परीक्षासम्बन्धी प्रावधान पारित भएको थियो । विधेयक तयार पार्ने सञ्चार मन्त्रालयसमेत परीक्षाको विपक्षमा रहेकाले समितिबाट आएको सुझावलाई सच्याउन लागिएको राष्ट्रियसभा सचिवालय स्रोतले बताएको छ ।

विधेयकमा रहेको सजाय सम्बन्धी प्रावधानमा अदालतले नै हेर्ने गरी संशोधन भएको छ । साथै सञ्चार मन्त्रालयले काउन्सिल गठन गर्ने प्रावधानलाई संशोधन गरेर क्याबिनेटबाटै मिडिया काउन्सिल गठन हुने गरी संशोधन भएको छ ।

तर, मिडिया काउन्सिलले पत्रकार र समाचार देखिएको पक्षसँग मेलमिलाप गराउने दफा विधेयकमा थपिएको भन्दै त्यसलाई पनि सच्याउन सञ्चारकर्मीहरुले माग गरेका छन् । समाचारका विषयमा मेलमिलाप गराउने प्रावधानले बिचौलियाहरु उत्पादन गर्ने गुनासो पत्रकारहरुले गरेका छन् ।

मिडिया काउन्सिल विधेयकमा जस्तै सुचना प्रविधि विधेयकमा पनि संशोधन गर्ने तयारी भइरहेको सूचना प्रविधि मन्त्रालय र राष्ट्रिसभाका अधिकारीहरुले संकेत गरेका छन् । यसैवीच, पत्रकारहरुलाई परीक्षा दिने प्रावधान विधेयकमा राखिएको भन्दै पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । महासंघले बिहीबार यसबारे सम्पादकहरुसँग परामर्श गर्दैछ ।

विशेष