भारतका वामपन्थी नेता कन्हैया कुमार पक्राउ
काठमाडाैँ – भारतका वामपन्थी नेता एवम् जहवारलाल नेहरु युनिभर्सिटी (जेएनयू) छात्र संघका पूर्वअध्यक्ष कन्हैया कुमार पक्राउ परेका छन् । प्रहरीले उनलाई बिहारको चम्पारणबाट पक्राउ गरी हिरासतमा लिएको हो ।
ट्विटरमा कन्हैया कुमारले यो कुराको पुष्टि गर्दै लेखेका छन्, ‘आज बापू–धाम (चम्पारण)मा गान्धीजीलाई नमन गरी गरिब–विरोधी सीएए–एनआरसी–एनपीआरको विरोधमा एक महिनाको जन–गण–मन यात्राको सुरुवात हुँदै थियो । समाजका सबै तप्काका मानिस यस यात्रामा सहभागी हुनका लागि भेला भएका थिए । तर, प्रशासनले केही बेरअघि सबैलाई हिरासतमा लिएको छ ।’
पक्राउ परेपछि कन्हैया कुमारले भने, ‘अहिले देशमा र्याली गर्ने अनुमति लिनुपरिरहेको छ, पछि सास लिने अनुमति पनि लिनुपर्छ ।’ बुधबार कन्हैया कुमारले एक महिना लामो ‘जन–गण–मन यात्रा’ गर्न लागेको बताएका थिए जुन यात्रा सबै प्रमुख शहरसम्म पुग्नेछ र यस क्रममा करिब ५० सभा हुनेछन् । कन्हैया कुमारले नारा दिएका थिए, ‘सुन ए सरकार, देशका जनता पुकार गरिररहेका छन्, सीएए–एनआरसी–एनपीआर चाहिँदैन । हामीलाई शिक्षा र रोजगार चाहिएको हो ।
नेसनल रजिस्टर अफ सिटिजन्स (एनआरसी), सिटीजनसिप एकेडेमिक एक्ट (सीएए) र नेसनल पपुलेसन रजिस्टर (एनपीआर) भारतमा विवादित कानुनहरू हुन् । पछिल्लो समय यी विधेयकविरुद्ध भारतका विभिन्न शहरमा प्रदर्शन भइरहेको छ ।