नेकपामा भीम रावललाई मथ्थर पार्ने प्रयास
काठमाडौंः अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विपक्षमा निरन्तर उभिएका स्थायी कमिटी सदस्य भीम रावललाई मत्थर पार्ने कोसिस भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उनलाई भेटेरै एमसीसीबारे मौन बसिदिन आग्रह गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रहमा दाहालले रावललाई बोलाएर त्यसबारे छलफल गरेका थिए । तर रावलले आफू प्रमाणबिना नबोल्ने भएकाले यो विषयमा जहाँ र जस्तो ठाउँमा पनि धारणा राख्न सक्ने बताएका थिए । स्रोतका अनुसार केन्द्रीय कमिटीको बैठक सुरु हुनुअघि पार्टी काममा अछाम रहेका रावललाई पार्टी अध्यक्ष दाहालले निरन्तर फोन गरेर काठमाडौं बोलाएका थिए । १४ गते साँझ काठमाडौं आउने तयारीमा रहेका रावल अध्यक्ष दाहालको निरन्तर फोनका कारण १२ गते साँझ नै काठमाडौं आएका थिए ।
काठमाडौं आएपछि सुरुमै उनले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गरे । त्यसपछि दाहालसँग भेटेर उनले आफ्ना कुरा राखेका थिए । उनले केन्द्रीय कमिटीको बैठकमा एमसिसीलाई छलफलको एजेन्डा बनाउन अध्यक्ष दाहाललाई आग्रह गरेका थिए । तर १५ गतेको बैठकको एजेन्डामा एमसिसी नदेखेपछि हलबाट उठेर उनले एजेन्डा मागे गरे । सोहीअनुसार अहिले केन्द्रीय कमिटीको बैठकमा एमसीसीमाथि बहस भएको छ । यो खबर आजको नागरिक दैनिकबाट लिइएको हो ।
भीम रावल एमसीसी