युट्युव, फेसबुक र ट्विटरमा राष्ट्र बैंकले लगायो यस्तो प्रतिबन्ध
काठमाडाैँ – पछिल्लो समय नेपालमा इन्टरनेटलाई माध्यम बनाएर सञ्चालित सामाजिक सञ्जालमा विज्ञापन गर्ने कार्यमाथि नेपाल राष्ट्र बैंकले प्रतिबन्ध लगाएको छ।
फेसबुक, युट्युब, ट्विटरलगायत समाजिक संजालमा विज्ञापन गर्ने क्रम बढेपछि बैंकले यस्तो प्रतिबन्ध लगाएको हो। बैंकले शुक्रबार एक सूचना जारी गर्दै अबदेखि त्यस्ता सामाजिक सञ्जालमा विज्ञापन नगर्न आग्रह गरेको छ । केन्द्रीय बैंकले अबदेखि फेसबुक, युट्युब, ट्विटरलगायतका सामाजिक सञ्जालमा विज्ञापन गरेको पाइएमा कडा कारबाही गर्ने चेतावनी समेत दिएको छ ।
राष्ट्र बैंकले आज प्रकाशित गरेको सूचनामा सामाजिक सञ्जालमा विज्ञापन गर्नु गैरकानुनी काम भएको उल्लेख गर्दै त्यस्तो कार्य गरेमा विदेशी मुद्रा अपचलनको अभियोगमा मुद्दा लगाइने बताएको छ । सामाजिक सञ्जालमा विज्ञापन गर्दा त्यसको भुक्तानी र विज्ञापनबापत प्राप्त हुने रकमको कारोबार गैरकानुनी रहेकाले रोक लगाइएको राष्ट्र बैंकको भनाइ छ ।
राष्ट्र बैंकको सूचनामा भनिएको छ, ‘फेसबुक, ट्वीटर, युट्युबजस्ता सामाजिक सञ्जाल तथा इन्टरनेटमार्फत गरिने विज्ञापनबापत अनौपचारिक माध्यमबाट विदेशमा भुक्तानी पठाउने र विदेशबाट त्यसरी रकम प्राप्त गर्ने कार्य गैरकानुनी हो, यस्तो कारोबारबाट विदेशी विनिमय अपचलन हुने भएकाले कसैले त्यसरी कारोबार गरेको पाइएमा विदेशी विनिमय ऐन २०१९ र प्रचलित कानुनबमोजिम कारबाही हुने व्यहोरा सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’