यस्तो छ डिल्लीबजार कारागारमा महराको दैनिकी
पूर्वसभामुख कृष्णबहादुर महरा जबर्जस्ती करणीको अभियोगमा करिब तीन महिनादेखि पुर्पक्षका लागि थुनामा छन्। कात्तिक २५ गतेदेखि डिल्लीबजार कारागारमा रहेका उनलाई भेट्न जानेहरूको लर्को नै लाग्ने गरेको छ। उनलाई भेट्न आउनेहरू प्रायः जनमानसमा परिचित र शीर्षनेताहरू होलान् भन्ने धेरैलाई लाग्न सक्छ। तर उनलाई भेट्न सामान्य कार्यकर्ता र आफन्तबाहेक भिआइपी भने जाँदैनन्। ‘अरू कैदीलाई भेट्न फाट्टफुट्ट रूपमा भए पनि शीर्ष नेताहरू आइरहेका हुन्छन्,’ कारागार प्रशासनका एक कर्मचारीले भने, ‘तर महराज्यूलाई भेट्न शीर्ष नेताहरू कोही नआएको देख्दा अनौठो लागेको छ।
राज्यको पाँचौं वरीयताका व्यक्ति जबर्जस्ती करणीको मुद्दामा जेल चलान भएको यो नै पहिलो रेकर्ड हो। त्यसकारण पनि महराले अप्ठेरो महसुस गरेको जनाइएको छ। कारागार स्रोतका अनुसार महरा स्वयं पनि बाहिरी व्यक्तिसँग भेट्न रुचि राख्दैनन्। कारागारका कर्मचारीले ‘कस्तो छ ?’ भनेर सोध्दा उनी टाउको हल्लाएर ठीक रहेको संकेत गर्छन्। सञ्चारकर्मी वा कर्मचारीसँग त झन् उनी भेट्ने इच्छा नै राख्दैनन्। कारागार चलान भएलगत्तै उनले कर्मचारीसँग पत्रकार आए भेट्न नदिनू भनेका थिए।
महरालाई कारागारको ‘क’ ब्लकको दुई नम्बर कोठामा राखिएको छ। चार भवन (ब्लक) का आठ कोठा (हल) मा २५/३० जनाका दरले कैदीहरू लस्करै सुत्छन्। उनको कोठामा अन्य २५ कैदी राखिएका छन्। स्रोतका अनुसार महरा दायाँबायाँका कैदीसँग खासै बोल्दैनन्। ‘कैदीको अवस्था बुझ्न भित्र छिर्छौं, भिआइपीहरूको अवस्था नियाल्छौं,’ कारागारका एक कर्मचारीले भने, ‘महराले निकै अप्ठेरो महसुस गरिरहनुभएको अनुभव हुन्छ, केही बोल्नुहुन्न।’
कारागारका जेलर अरुण पोख्रेलका अनुसार महरालाई भेट्न आउने राजनीतिक नेताभन्दा कार्यकर्ता बढी छन्। महरा जेलमा बसेको तीन महिना बित्न लाग्दा उनलाई भेट्न १० हजारभन्दा बढी आगन्तुक पुगिसकेका छन्। दैनिक ३० जनाको हाराहारीमा आगन्तुक उनलाई भेट्न कारागार पुग्छन्। ‘महरा शान्तसँग बसिरहनुहुन्छ,’ जेलर पोख्रेलले भने, ‘उहाँलाई भेट्न आउनेको संख्या बढी छ, आगन्तुकसँग गफ गरेर दिन बिताउनुहुन्छ।’
घरकै खाना
कारागारभित्र महराको बिहान ६ बजेदेखि दैनिकी सुरु हुन्छ। उठ्नेबित्तिकै उनी केही बेर ओछ्यानमै योग गर्छन्। एकछिन हातपाखुरा र जिउ तन्काएपछि कारागारकै कम्पाउन्डमा चार/पाँच फन्को मार्छन्। लगत्तै तातोपानी, चिनीबिनाको चिया र रोटी, फलफूल आदि खान्छन्। उनका लागि प्रायः घरबाटै खानेकुरा आइपुग्छ। बिहान ९ बजेतिर पत्रपत्रिका पढ्न पुस्तकालय छिर्छन्। १० बजे खाना खान कोठाभन्दा बाहिरपट्टि कुर्सीमा आउँछन्। कहिलेकाहीं भने कारागारभित्रकै क्यान्टिनमा खान्छन्।
कोठामा छिरेर केही बेरको आरामपछि उनी ११ बजे आगन्तुक भेट्न र घाम ताप्न बाहिर निस्कन्छन्। दिउँसो २ बजे आफन्तसँगै खाजा खान्छन्। त्यसपछि ५ बजेसम्म कोठाबाहिरै बस्छन्। साँझ परेसँगै खाना खाएलगत्तै उनी सुगर र प्रेसरको औषधि सेवन गर्छन्। महराले आफ्नो सिरानीनजिक केही पुस्तक राखेका छन्। उनी आफन्त नआएका बेला किताब र पत्रपत्रिका पढ्छन्। बेलुकी ९ बजे उनको सुत्ने समय हो।
चौतारोमा गफ
कारागारका बीचमा एउटा चौतारोजस्तो खुला ठाउँ छ। त्यहाँ कैदीहरूलाई गफगाफ गर्न प्लास्टिकका टेबल र मेच राखिएका छन्। महरा कोठाबाट निस्केर त्यहीं पुग्छन्। आगन्तुक पनि उनलाई त्यहीं कुर्छन्। पछि सँगै बसेर घाम ताप्छन् र भलाकुसारी गर्छन्। सोमबार नागरिककर्मी कारागार क्षेत्र पुग्दा उनी आगन्तुकसँग गफिँदै थिए। अपरिचित अनुहारका ती व्यक्तिसँग कुराकानीका क्रममा महराले मुस्कुराइरहेका थिए।
जीर्ण छ कारागार
डिल्लीबजार कारागार क्षेत्र साँघुरो र जीर्ण छ। यहाँ ६ सय ३१ कैदी छन्। एक सय चार वर्ष पुरानो भवन अहिले भत्कने अवस्थामा पुगेको छ। कारागारको कार्यालयसमेत रहेको भवन चिराचिरा परेको छ। त्यहाँका कर्मचारीले यसअघि गृह मन्त्रालय, अर्थ मन्त्रालय, महानगरपालिकालगायत निकायमा कारागारको अवस्थाबारे जानकारी गराएका थिए। गृहमन्त्री र रक्षामन्त्रीले कारागार अवलोकन गरेका बेला कर्मचारीले सबैतिर घुमाएका थिए। ६ महिनाअघि अवलोकनका क्रममा गृहमन्त्रीले सुधार गर्ने आश्वासन देखाएका थिए। तर, कारागारको भौतिक अवस्था सुधार गर्ने विषयमा सरकारी निकायले चासो नदिएको जेलर पोख्रेलले जानकारी दिए। ‘कैदीहरू जोखिममा छन्, प्रशासनसमेत व्यवस्थित गराउन सकिएको छैन,’ उनले भने, ‘यसबारे धेरैपटक माथिल्लो निकायमा जानकारी गरायौं तर वास्ता भएन।’
किन रोज्छन् डिल्लीबजार ?
प्रायः भिआइपी कैदीको रोजाइमा डिल्लीबजार कारागार पर्ने गर्छ। कारण, त्यहाँ धेरै मानिसको ओहोरदोहोर हुँदैन। विगतमा कांग्रेस नेता खुमबहादुर खड्का पनि त्यहीं नै बसेका थिए। कैदी बन्नुअघि प्रतिष्ठित पदमा बसेका व्यक्तिहरू आफूलाई धेरैले नदेखून् भन्ने चाहन्छन्। त्यसकारण पनि सोही कारागारलाई धेरैले रोज्ने गरेको स्रोतको भनाइ छ। हाल टीकापुर हत्याकाण्डमा दोषी ठहरिएका रेशम चौधरी, सुडान काण्डका योजनाकार रमेश चन्द ठकुरी पनि त्यही कारागारमा छन्।
कृष्णबहादुर महरा कारागार दैनिकी