News

महायज्ञ गर्ने महाराज भागेपछि बिचल्ली

महायज्ञ गर्ने महाराज भागेपछि बिचल्ली

चितवन। जगतपुरको पशुपति मन्दिरका लागि नारायणगढमा हुँदै गरेको महायज्ञका प्रमुख वाचक ‘बालयोगेश्वर’ भनिने विजय भण्डारी व्यवस्थापनका काममा बढी खटिने गर्थे । महायज्ञका लागि सबैभन्दा खर्चिलो काम टेन्ट व्यवस्थापन र भव्य नौतले हवन कुण्ड बनाउन उनैले सम्झौता गरेका थिए ।

जगतपुर नयाँ बस्तीमा रहेको पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मनोज पुडासैनीले कात्तिक २८ मा भरतपुर महानगरपालिकासँग नारायणगढस्थित नारायणी नदी किनारको चौर पुस २० देखि उपलब्ध गराउन अनुरोध गरेका थिए । महानगरले ठाउँ दिएपछि कामका लागि विभिन्न निकायसँग सम्झौता गर्न विजय भण्डारी अग्रसर भए । पुस ९ मा मण्डप निर्माण तथा टेन्टको सम्झौता भएको छ ।

३५ लाख रुपैयाँमा टेन्ट र हवन कुण्डको नौ तले मण्डप निर्माणको सम्झौता हुँदा पहिलो पक्षका मूल आयोजक समारोह समितिका तर्फबाट संकल्पकर्ता एवं प्रमुख वाचक उल्लेख गर्दै ‘बालयोगेश्वर महाराजश्री’ ले हस्ताक्षर गरेका छन् । नारायणगढको संगम टेन्ट हाउसले यो कामको जिम्मा लिएको थियो । ‘महाराज’ को टिम तीन महिनादेखि चितवनमा सक्रिय थियो । यज्ञ आयोजक मूल समितिको संयोजक लालबहादुर दवाडी हुन् । मण्डपसमेत बनेर सकिएका बेला पुस २२ मा आफू समितिको संयोजक भएको दवाडीले बताएका छन् ।

महायज्ञबाट २५ करोड रुपैयाँ उठाएर पशुपति मन्दिर क्षेत्रलाई पर्यटकीय धाम बनाउने भनिएको छ । मन्दिर परिसरमा लालपुर्जा नबनेको तर फिल्डबुकमा कायम भएको अढाई बिघा र अन्य ऐलानी डेढ बिघा गरेर चार बिघाजति जमिन छ । मन्दिर क्षेत्रमा ‘महाराज’ का लागि आश्रमसमेत बनाउन समिति तयार भएको थियो । विभिन्न ठगी काण्डमा मुछिएको समाचार सार्वजनिक भएपछि अघिल्लो शनिबार उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्ने भनिएको ‘महायज्ञ’ विवादमा परेको छ । उपराष्ट्रपति पुन उद्घाटन नगरी फर्किए । सुरुका दुई दिन यज्ञस्थलमा देखिएका भण्डारी त्यसपछि सम्पर्कविहीन छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा रमेश कुमार पौडेलले लेखेका छन। 

महायज्ञ महाराज

विशेष