News

प्रतिनिधिसभा बैठक आज, कस्तो छ कार्यसूची?

प्रतिनिधिसभा बैठक आज, कस्तो छ कार्यसूची?

काठमाडौंः प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठकमा राष्ट्रियसभाबाट पारित भएका विधेयकको सन्देश जानकारी गराउनुका साथै संवैधानिक आयोगका बार्षिक प्रतिवेदनहरु पेश हुने छन् ।

प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संसोधन) विधेयक २०७५का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशको जानकारी बैठकमा गराउने कार्यसूची रहेको छ ।

त्यस्तै नेपाल इन्जिनियरिङ परिषद (पहिलो संसोधन) विधेयक २०७६ र संघ, प्रदेश र स्थानीय तह । अन्तरसम्बन्ध व्यवस्थापन विधेयकका सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने संभावित कार्यसूची छ ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट संवैधानिक आयोगका प्रतिवेदनहरु पेश हुनेछन् । न्याय परिषद र न्याय सेवा आयोग, लोक सेवा आयोग, राष्ट्रिय मानवअधिकार आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय समावेशी आयोग, मधेशी, थारु र मुस्लिम आयोगका वार्षिक प्रतिवेदन पेश हुने संसद सचिवालयले जनाएको छ ।  

बैठकले प्रतिनिधिसभाका पूर्व सदस्य गम्भीरजंग कार्कीको निधनमा शोकप्रस्ताव पनि पारित गर्नेछ । २०४८ सालमा कांग्रेसका तर्फबाट पाल्पा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित कार्कीको ७४ वर्षको उमेरमा गत माघ ११ गते निधन भएको थियो ।  

प्रतिनिधिसभा बैठक कार्यसूची विधेयक

विशेष