घुँडा दुखेको औषधिले बिग्रियो मृगौला
काठमाडौंः घुँडा दुखेर अस्पताल पुगेकी एक महिलालाई डाक्टरले दिएको औषधिको असरले मिर्गौलामा खराबी देखिएपछि पीडित परिवारले अदालतमा मुद्दा हाल्ने तयारी गरेको छ । झापा चारआली नगरपालिका–१३ की सुनम गौतमको मिर्गौलामा खराबी देखिएपछि पीडित परिवार यतिबेला चिन्ताग्रस्त छ। झापा बिर्तामोडस्थित बी एन्ड सी मेडिकल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टरमा घुँडाको उपचार गराएकी सुनमको उपचार यतिबेला काठमाडौं मेडिकल कलेजमा भइरहेको छ । ‘अवस्था क्रिटिकल नै छ । मिर्गौलामा असर देखिएको छ’ सुनमका जेठा छोरा संगमले भने । ३९ वर्षीया सुनमको दायाँ घुँडाछेउ एक्कासी दुख्न थाल्यो । घुँडाको केही भाग सुन्निएपछि उनी उपचारका लागि बी एन्ड सी अस्पताल पुगिन् । बी एन्ड सी अस्पताल पुगेकी सुनमलाई जनरल फिजिसियन डा. लक्ष्मण ठाकुरले मंसीर २७ गते जाँच गरि औषधि प्रेस्क्राइब गरेका थिए ।
बी एन्ड सीका चिकित्सकले ‘प्रेस्क्राइब’ गरेको औषधि सेवनले प्रतिक्रिया गर्दा सुनमको अनुहार बिग्रँदै गएको छोरा संगमले जानकारी दिए । अस्पतालमा डा. ठाकुरले प्रेस्क्राइब गरेको इन्डोमेथासिन क्याप्सुल र लिवोफ्लोक्स–७५० औषधि सेवन गरेपछि उनको अवस्था बिग्रँदै गएको उनले बताए । अस्पतालमा विभिन्न परीक्षण गरिएको परिवारले जनाएको छ । डा. ठाकुरले प्रेस्क्राइब गरेको औषधिको प्रभावले शारीरिक क्षति पुगेकाले नयाँ औषधि खुवाउनु पर्ने सुझाव काठमाडौं मेडिकल कलेजका चिकित्सकले दिएका छन् । सोहीअनुसार औषधि सेवन गराउन थालेको अर्का छोरा सुगमले बताए ।
बिरामी सुनमलाई शारीरिक, मानसिक र भावनात्मक क्षति पुगेको परिवारका सदस्यले बताए। चिकित्सकको हेलचेक्र्याइँका कारण सुनम दिनहुँ डे«सिङ गर्दा रुने गरेको सुगमले बताए । उनको अनुहार यतिबेला नचिनिने अवस्थामा छ । अनुहार पोलेकोजस्तो देखिन्छ । ‘शरीरको सबै ठाउँ पोलेजस्तो देखिन्छ । कुनै ठाउँ बाँकी छैन,’ संगमले भने । स्वास्थ्य अवस्था बिग्रँदै गएपछि मंसिर १ गते उडानबाट काठमाडौं ल्याइएको थियो। काठमाडौं मेडिकल कलेजमा उपचाररत सुनमको मिर्गौलामा असर परेको चिकित्सकले जनाएका छन् । ‘मिर्गौलामा असर पुगेको छ। जुनसुकै बेला पनि डायलासिस गर्नुपर्ने हुन सक्छ भनेर डाक्टरले भनेका छन्,’ संगमले भने।
औषधिको असरबाट सुनमको शरीरमा क्षति पुगेको भन्दै पीडित परिवारले क्षतिपूर्ति मुद्दा हाल्ने भएको हो । मुलुकी अपराध (संहिता) ऐन र उपभोक्ता हित संरक्षण ऐनका आधारमा चिकित्सकीय लापरबाहीमा क्षतिपूर्ति भराइ पाउन मुद्दा दायर गर्ने कानुनी बाटो छ । उपभोक्ता हित संरक्षण मञ्चका उपमहासचिव विष्णु तिमिल्सेना गलत औषधिका कारण सेवाग्राहीको स्वास्थ्यमा क्षति पुग्नु चिकित्सकको गम्भीर लापरवाही भएको बताउँछन् । ‘गलत औषधिकै कारणले मिर्गौला बिग्रन पुगेको हो भने मुद्दा दायर गर्न सकिन्छ,’ अधिवक्ता तिमिल्सेनाले भने।
२० वर्षअघि टाउको दुख्ने समस्याले त्रिपुरेश्वरस्थित ब्लु क्रस नर्सिङ होममा गएकी युवती सिर्जना केसीको डा। दिनेश विक्रम (डीबी) शाहले दिएको औषधिले आँखामा क्षति पुगेपछि क्षतिपूर्ति भराउने फैसला भएको थियो। सर्वोच्च अदालतले ०६६ सालमा केसीलाई क्षतिपूर्तिबापत ६ लाख १७ हजार १ सय १९ रुपैयाँ दिलाउने फैसला गरेको थियो। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट लिइएको हो ।