News

गाउँमा डोजरे विकास, ९९० परिवार पहिरोको उच्च जोखिममा

गाउँमा डोजरे विकास, ९९० परिवार पहिरोको उच्च जोखिममा

बैतडीः डोजरले जथाभावी सडक खन्दा बैतडीका सुर्नया गाउँपालिका, मेलौली नगरपालिका र पुरचौडी नगरपालिकामा एक विद्यालयसहित ९९० परिवार पहिरोको जोखिममा परेका छन् । पहिरोले विस्थापित सुर्नया गाउँपालिका–८ का छ घरपरिवार अझै घर फर्किन सकेका छैनन् ।

पर्यावरणीय अध्ययनबिना डोजर चलाएर सडक खनेकै कारण बैतडीको सुर्नया गाउँपालिका–८, ढोल्या गाउँमा २०७६ साउनमा पहिरो खस्दा अमर बोहरा, लालबहादुर बोहरालगायत छ घरपरिवार विस्थापित भएका थिए । विस्थापित परिवार अहिलेसम्म घर फर्किन नसकेको पीडित अमर बोहराको गुनासो छ । घरमुनि डोजरले सडक खन्दा २०७६ पुस २३ गते भएको हिउँदे वर्षाले घरको आँगन पहिरोले लगेपछि मेलौली नगरपालिका–६ का हेमराज भट्ट यतिखेर बिचल्लीमा परेका छन् ।

मेलौली नगरपालिका–९, असुरमा रहेको शिव आधारभूत विद्यालयमुनि डोजरले सडक खन्दा विद्यालय पहिरोको जोखिममा परेको छ । पहिरोका कारण मेलौली नगरपालिकामा अहिलेसम्म ११ परिवार विस्थापित भइसकेका छन् । पहिरोले मेलौली नगरपालिका–८, कोटीगाउँका ४४२ परिवार र वडा नं. ९ असुरगाउँका दुई सय घरपरिवार गरी ६४२ परिवार पहिरोको जोखिममा छन् ।

सडकको पहिरोले घर खेत पुरेपछि गाउँबाट विस्थापित भएका छ घरपरिवार रेडक्रसले दिएका कम्बल र त्रिपाल बोकेर छिमेकीको घरमा आश्रय लिएको पाँच महिना बितिसकेको पहिरोपीडित सुर्नया गाउँपालिका–८, ढोल्याका अमर बोहराले पीडा सुनाए । पहिरोले लगाएको मकै नाश गरेको र खेतमै पहिरो आएकाले गहुँ बाली लगाउन नपाएको बोहराले बताए । गाउँमा पहिरो खस्दा रेडक्रसले त्रिपाल, कम्मल र भाडाकुँडा दिए पनि पहिरो खसेको पाँच महिना बितिसक्दा पनि स्थानीय सरकारबाट कुनै सहयोग नपाएको ढोल्यावासीको गुनासो छ ।

गाउँ कार्यपालिकाको बैठक बस्न नसक्दा विस्थापित परिवारलाई राहत दिन नसकेको सुर्नया गाउँपालिकाका अध्यक्ष वीरबहादुर विष्टले बताए । गाउँपालिकाबाट २० हजार रुपियाँ दिन सकिने मापदण्ड भए पनि कार्यपालिकाको बैठकले राहत रकम बढाउन सक्ने अध्यक्ष विष्टले बताए तर बैठक नै बस्न नसकेको उनी बताउँछन् ।  

पुरचौडी नगरपालिका–८, मल्लादेहीको कमेरपानी पहिरोमा बर्सेनि निरन्तर पहिरो जाँदा पुरचौडी नगरपालिका–८, मल्लादेहीका डम्बर कुँवरको ८५ रोपनी जग्गा र बस्ने घर पहिरोले निलेपछि कुँवर अहिले सुकुम्बासी बनेका छन् । 

पुरचौडी नगरपालिका–८, कमेरपानी पहिरोका कारण जमाडीगाडमा रहेको डिलासैनी गाउँपालिका–४ को स्थानीय लघु जलविद्युत्को पावर हाउस पुरेपछि १५० परिवार वर्षौंदेखि अँध्यारोमा बस्न बाध्य भएका छन् ।

पुरचौडी नगरपालिका–८, मल्लादेहीस्थित कमेरपानी पहिरोले चार गाउँका ३३० परिवार जोखिममा परेका छन् । मेलौली नगरपालिकाका ८ र ९ नं. वडाका कोटीगाउँ र असुरगाउँका ६४२ परिवार पहिरोको जोखिममा परेका छन् । मेलौली नगरपालिकाको कोटी गाउँ पहिरो नियन्त्रण हुन नसक्दा ११ परिवार गाउँबाट विस्थापित भएका छन् । पहिरोले घर खेत लगेपछि स्थानीय भरत ठगुन्नाको परिवार वर्षौंदेखि सडक किनारमा झुप्रो बनाएर बसेका छन् । 

डोजर चलाएर विद्यालयमुनि सडक खन्दा पहिरोले विद्यालयको भवन र खानेपानीमा क्षति पुगेका मेलौली नगरपालिका–९ स्थित शिव आधारभूत विद्यालयका प्रधानाध्यापक जयराज ओझाले बताउनुभयो । जथाभावी डोजरले सडक खन्दा मेलौली नगरपालिकाका ८ र ९ वडाका कोटीगाउँ र असुरगाउँका ६४२ परिवारसहित एउटा विद्यालय पहिरोको जोखिममा परेको ओझाले बताए । स्थानीय सरकारले पहिरो रोकथामको योजना बनाउनुको सट्टा मेलौली नगरपालिकाले डोजर किनेर सडक खन्न थालेपछि असुर गाउँमा पहिरोले थप असुरक्षा बढेको स्थानीयवासी महेश भट्टले बताए । 

पहिरोले मेलौली नगरपालिका मात्रै होइन, पुरचौडी नगरपालिकाको लामुनी पहिरो, सिगास गाउँपालिकाको चमडेखर्क र गाँजरी पहिरो, दोगडाकेदार गाउँपालिकाको डोल–सित्तड पहिरो, डिलासैनी गाउँपालिकाको बागाबगर पहिरो जिल्लाका जोखिमपूर्ण पहिरो हुन् ।

सिगास गाउँपालिका–३, चमडेखर्कमा बाढी पहिरोको उच्च जोखिममा छ तर गाउँपालिकाले पहिरो रोकथामको प्रयास गरेको छैन । बरु त्यतैबाट डोजरले सडक खन्न सुरु गरेको छ । गोरखापत्र दैनिकबाट 

बैतडी पहिरो डोजरे विकास

विशेष