विदेश

कोरोना भाइरस संक्रमणः विश्वब्यापी स्वास्थ्य संकटकालको घोषणा, अमेरिकाद्वारा चीन भ्रमणमा रोक

कोरोना भाइरस संक्रमणः विश्वब्यापी स्वास्थ्य संकटकालको घोषणा, अमेरिकाद्वारा चीन भ्रमणमा रोक

काठमाडौंः विश्व स्वास्थ्य संगठनले चीनमा फैलिरहेको कोरोना भाइरसको संक्रमणलाई लिएर विश्वब्यापी स्वास्थ्य संकटकालको घोषणा गरेको छ । कोरोना भाइरसको संक्रमणले २१३ जनाको मृत्यु र करीब १० हजार जना संक्रमित भएका छन् ।

विश्व स्वास्थ्य संगठनको आपतकाल समितिको सुझाबमा डब्ल्यु एच ओका महानिर्देशक डा. टेड्रस अदनोम गेब्रेससले विश्वब्यापी स्वास्थ्य संकटकालको घोषणा गरेका हुन् । कोरोना भाइरसको संक्रमण चीनको मुख्यभूमि बाहिरका २२ राष्ट्रमा फेला परेको छ । पछिल्लोपटक भारत, इटाली र फिलिपिन्समा समेत भाइरस संक्रमणका बिरामी फेला परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ ।

संक्रमण फैल्ने त्रासमा चीनमा मात्रै करीब ६ करोड ब्यक्ति एक सातादेखि शहर बाहिर निस्किन सकेका छैनन् । चिनियाँ स्वास्थ्य आयोगका अनुसार बुधबारसम्म वुहान शहरमा नौ हजार ६९२ जना संक्रमित फेला परेका छन् । मङ्गलबार एक हजार ९८२ जना संक्रमित रहेकोमा बुधबार उक्त संख्या नाटकीय रुपमा वृद्धि भई नौ हजार ६९२ पुगेको आयोगले जनाएको छ ।

डब्ल्यु एच ओका महानिर्देशक डा. टेड्रसले चीनमा के भइरहेको भन्दा पनि स्वास्थ्य क्षेत्रमा कमजोर पूर्वाधार रहेका राष्ट्रमा छिटो संक्रमण फैल्न सक्ने जोखिमले गर्दा संकटकाल घोषणा गरिएको बताए । विश्व स्वास्थ्य संगठनले भने १८ राष्ट्र कोरोना भाइरसको ९८ जना संक्रमित फेला परेको प्रष्ट्याएको छ । उनले चिनियाँ सरकारले संक्रमण रोक्न गरिरहेको प्रयासको प्रशंसा गरेका छन् । 

विश्व स्वास्थ्य संगठनले यसअघि पाँचपटक स्वास्थ्य संकटकालको घोषणा गरेको छ । सन् २००९ मा डब्ल्यु एच ओले स्वाइन फ्लुको संकटकालको घोषणा गरेको थियो । एच वान एन वान भाइरसले विश्वका करीब दुई लाख सर्वसाधारणको मृत्यु भएको थियो । २०१४ मा पोलियो, २०१६ मा जिका र २०१४ तथा २०१९ मा इबोला भाइरसको संक्रमणपछि डब्ल्यु एच ओले संकटकालको घोषणा गरेको थियो ।

अमेरिकाद्वारा चीन भ्रमणमा रोक

यसैबीच अमेरिकाले चीन भ्रमणमा ननिस्कन आफ्ना नागरिकलाई सचेत गराएको छ । अमेरिकाको स्टेट डिपार्टमेन्टले ‘लेभेल फोर’को चेतावनी दिदै भ्रमणमा रोक लगाएको छ ।

कोरोना भाइरस चीन भ्रमण अमेरिका विश्वब्यापी स्वास्थ्य संकटकाल

विशेष