News

माघको पहिलो हप्ताभित्र उखु किसानको रकम भुक्तानी

माघको पहिलो हप्ताभित्र उखु किसानको रकम भुक्तानी

काठमाडौंः उद्योग मन्त्रालयमा भएको छलफलमा मन्त्री लेखराज भट्टबाट मौखिक आश्वासन मात्र आएको बताउँदै आन्दोलनकारीले लिखित प्रतिवद्धता नआएसम्म आन्दोलन जारी राख्ने बताएका छन् । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले माघको पहिलो हप्तासम्म उखु किसानको बक्यौता रकम भुक्तानी नगर्ने चिनी उद्योगको कारोबार बन्द गराउने आश्वासन दिएका छन् । 

मन्त्री भट्टले आफ्नो मन्त्रालयमा आन्दोलन गरिरहेका उखु किसानसँग बुधबार छलफल गर्दै पुस २५ गतेभित्र ८० प्रतिशत र माघको पहिलो हप्तासम्म बक्यौता रहेको सम्पूर्ण रकम उखु किसानलाई भुक्तानी गर्न लगाउन आश्वासन दिएको मन्त्रालयका प्रवक्ता दिनेश भट्टराईले बताए ।  उखु किसानलाई दिने अनुदानका बारेमा अर्थ मन्त्रालय र कृषि विकास तथा पशुपक्षी मन्त्रालयबीच समन्वय गर्ने र किसानकै खातामा रकम पठाउने व्यवस्था मिलाउने आश्वासन पनि मन्त्री भट्टले दिएको उखु किसान आन्दोलनको अगुवाइ गर्दै आउनुभएका राकेश मिश्रले बताए । 

उद्योग मन्त्रालयमा भएको छलफलमा उखु किसानले ११ बुँदे माग प्रस्तुत गरेका छन् । हालसम्म चिनी उद्योगीको सम्पूर्ण बक्यौता रकम उपलब्ध गराई, सरकारले दिने अनुदान कुनै झन्झट नहुने गरी उपलब्ध गराइदिनुपर्ने माग उनीहरूले राखेका छन् । सरकारले तोकेको उखुको मूल्य प्रतिक्विन्टल ५३६ को दरले नै पाउनुपर्ने तथा ढालटा (सुक्खा) काट्न नपाइने मागमा उल्लेख गरेका छन् ।

उखुको तौलमा प्रतिक्विन्टल २० प्रतिशतसम्म ढालटा (सुक्खा काटी) को नाममा काटिएको रकम भुक्तानी गर्नुपर्ने, उखु काटेको ३६ घन्टाभित्रमा उद्योगीले किन्नुपर्ने, उखु बेचेको १५ दिनमा उद्योगीले पैसा भुक्तानी दिनुपर्ने, सरकारले उखुको उन्नत जातको बीउ र मलको व्यवस्था गरिदिनुपर्ने, उखुको बीमा गराइदिनुपर्ने, सम्पूर्ण किसानको रकम भुक्तानी गरेपछि मात्र उद्योग सञ्चालन गर्नुपर्ने र किसानले उत्पादन गरेको सम्पूर्ण उखु खरिद गर्नुपर्ने नगरे उद्योगले क्षतिपूर्ति दिनुपर्ने माग किसानले राखेका छन् । 

लेखराज भट्ट रकम भुक्तानी उखु किसान

विशेष