News

धादिङ जिल्ला अस्पतालको इमरजेन्सी बेडमा सुत्छन् कुकुर

धादिङ जिल्ला अस्पतालको इमरजेन्सी बेडमा सुत्छन् कुकुर

धादिङ । अस्पतालको इमरजेन्सी बेडमा विरामी सुत्छन् । हो, यो सामान्य कुरा हो । तर अस्पतालको इमरजेन्सी बेडमा कुकुर सुत्छन भन्दा तपाईलाई पत्यार नलाग्नु स्वभाविक हो । तर कहिलेकाँही अस्वभाविक कुरा पनि पत्याउनु पर्ने हुन्छ । हो, धादिङ जिल्ला अस्पताल पुग्नु भयो भने तपाइ आफैलाई पत्यार नलाग्ने कुरा पनि पत्याउन बाध्य हुनु हुने छ । धादिङ जिल्ला अस्पतालको बेडमा कुकुर सुतिरहेको देख्नु भयो भने पनि आश्चर्य नमान्नु होला । 

जिल्ला अस्पताल धादिङको अवस्था बेहाल बनेको छ । अस्पतालले दिने सेवा तथा सुविधादेखि व्यवस्थापन पक्ष फितलो हुदा आमसेवाग्राही मारमा परेका हुन् । आमनागरिकले सहज तरीकाले सेवा तथा सुविधा लिन सक्ने अस्पतालको रुपमा लिइएको जिल्ला अस्पताल पछिल्लो समयको बेहाल अवस्थामा देख्दा उपचार गर्न अस्पताल आउन नसक्ने अवस्था रहेको सर्वसाधारणहरु बताउँछन् । 

अस्पतालको भौतिक संरचनाबाहेक अरु कुनै एउटै पनि सुविधा चित्त बुझदो नभएको भन्दै सेवाग्राहीहरुको गुनासो बढेको छ । इर्मजेन्सी वेडमा कुकुर सुतिरहेको भेटिनु, इर्मजेन्सी प्रवेश च्यानल गेट बन्द गरि राख्नु, अहेवले फार्मेसीमा औषधि बेच्नु, लाखौं मूल्य बरारका मेसिनरी उपकरण प्रयोगहिन बन्नु, विरामी बोक्ने एम्बुलेन्सको दुरुपयोग हुनु जस्ता गतिविधी जिल्ला अस्पतालमा हुने गरेका छन् । 

इमरजेन्सी वेडमा भुस्याहा कुकुर

अस्पताल संचालन तथा व्यवस्थापन समितिको लापर्बाहीका कारण विरामी राख्ने वेडमा भुस्याहा कुकुर सुत्ने गरेको पाइएको छ । विरामी राख्ने इर्मजेन्सी कक्षमा राखिएको बेडमा कुकुर सुतेको देखेपछि उपचारका लागि अस्पताल पुग्ने धादिङबासी त्रसित बनेका छन् । उपचार गर्न अस्पताल जाँदा उल्टै अन्य रोग लाग्ने हो कि भन्ने डर बढेको नाम उल्लेख नगर्ने सर्तमा एक सेवाग्राहीले बताए । इर्मजेन्सीमा राखिएको बेडमै भुस्याहा कुकुर भेटिएपछि अस्पताल व्यवस्थापन तथा सेवाप्रति गम्भीर प्रश्न उठेको हो । 

उपकरण प्रयोगविहिन सामान्य विरामी पनि रेफर

जिल्ला अस्पताल धादिङमा सेवाग्राहीलाई सेवा दिन राखिएका उपकरण प्रयोगविहिन बनेको छ । भिडियो एक्सरे गर्ने उपकरण छ तर अस्पतालमा एक्सरे हुदैन । २ दिन चल्यो ५ दिन चल्दैन । सामान्य उपचारका लागि जिल्ला अस्पताल आएका विरामीहरुलाई समेत अन्यत्र रेफर गर्ने गरेको नीलकण्ठ नगरपालिका ३ का गणेश बुढाथोकीले बताए । अस्पतालमा भिडियो एक्सरे गर्ने व्यवस्था नभएपछि अन्यत्र गएर गर्नु परेको उनले बताए । 

उनले थपे ‘केहि दिन अगाडी छिमेकीलाइ सुत्केरी वेथा लागेर अस्पताल पुर्याउँदा डाक्टरले हत्त न पत्त काठमाडौ लैजानु यहाँ सक्दैनौं भन्नुभयो । तर मैले यहाँ कोशिस गरौ नभएमा लैजान्छु भनेर जिम्मेवारी लिएर आफैले हस्ताक्षर गरेपछि सहज रुपमै अस्पतालमा सुत्केरी भयो ।’ सामान्य उपचार समेत गर्न अस्वीकार गरि रिफर गर्ने प्रवृत्ति जिल्ला अस्पतालमा बढेको उनको भनाई छ ।

त्यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले अनुदानका रुपमा असारको पहिलो साता अस्पताललाई करिव २५ लाख रुपयाँ पर्ने बायोकेमेष्ट्रि एनालाइजर मेसिन दिएको थियो । अस्पतालको प्रयोगशालामा नियमित परिक्षण गरिने सुगर, एचडिएल, युरिक एसिड जस्ता थुप्रै परिक्षण एकै पटक गर्न मिल्ने यो मेसिन दक्ष जनशक्ति अभावका कारण प्रयोगशालमा थन्किएर बसेको छ । 

जनशक्ति अभावले सुधार कठिन : अस्पताल 

अस्पताललाई व्यवस्थित बनाउन लागि परेको जिल्ला अस्पताल धादिङका प्रमुख एवं मेडिकल सुपरिटेन्डेन्ट डा. त्रिभुवन चन्द्र झाले दाबी गरे । ‘अस्पतालमा थुप्रै कमी कमजोरी छन् सुधार्दै लैजाने हो, जनशक्ति अभावका कारण व्यवस्थापन गर्न कठिन भएको छ ।’ उनले भने ‘रेखदेख गर्ने कर्मचारी नभएकाले इर्मजेन्सी वेडमा कुकुर सुत्यो । त्यसैले कर्मचारी नभएको समयमा इर्मजेन्सी प्रवेश गर्ने च्यानल गेट लगाएर राख्ने गरेका हौं ।’

अस्पतालमा रहेको उपकरण भरपूर प्रयोगमा ल्याउने गरेको उनको दाबी छ । उनले भने ‘मेसिनरी सामान हो । विग्रन सक्छ । त्यहि समयमा सेवा लिन आएका विरामीबाट गुनासो भएको हुन सक्छ ।’ नयाँ पत्रिका दैनिकबाट 

कुकुर धादिङ इमरजेन्सी बेड

विशेष