बिरामी बोक्ने एम्बुलेन्स छैन, नेतालाई ४० लाखको गाडी
गुल्मी । गाउँका कोही बिरामी परे कि त भाडाकै गाडी खोज्नुपर्छ, कि त शान्तिपुरबाट एम्बुलेन्स मगाउनुपर्छ । नियमित चल्ने सवारीसाधनमा अक्सिजन हुँदैन । शान्तिपुरबाट एम्बुलेन्स आउन डेढ घण्टा कुर्नुपर्छ । जसले गर्दा बिरामीहरुलाई निकै समस्या पर्ने गरेको छ । यो समस्या जिल्लाको सत्यवती गाउँपालिकाका नागरिकले खेप्दै आएका छन् । स्थानीय तहको निर्वाचन भएको तीन तथा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन भएको दुई बर्ष भइसक्दा पनि जनप्रतिनिधिले आफ्ना नागरिकको लागि एम्बुलेन्स खरिद गर्न सकेका छैनन् ।
सत्यवती गाउँपालिकामा एउटा प्राथमिक स्वास्थ्य केन्द्र, सातवटा स्वास्थ्य चौकी र छ वटा सामुदायिक स्वास्थ्य केन्द्र गरी कुल १४ वटा स्वास्थ्य संस्था छन् । तर तिमध्ये कुनैमा पनि एम्बुलेन्स नभएको गाउँपालिकाका स्वास्थ्य संयोजक सूर्य बहादुर रानाले बताए । कोहि बिरामी परे लोकल गाडीमा बढी भाडा तिरेर पठाउनुपर्ने बाध्यता रहेको रानाले सुनाए । अधिकाशं बिरामीहरु स्थानीय गाडीमा जाने र अत्यावश्यक परे मजुवा तथा शान्तिपुरबाट एम्बुलेन्स बोलाउने गरिएको उनले सुनाए ।
जुहाङ्ग प्राथमिक स्वास्थ्य केन्द्र जिल्लाकै उत्कृष्ठ स्वास्थ्य केन्द्रअन्तरगत पर्दछ । जिल्लामै पहिलो पटक सर्पदशंको जाँच तथा डेंगुुको परिक्षण जुहाङ्गमा हुन्छ । त्यसका साथै ५८ प्रकारका निःशुल्क तथा अन्य सशुल्क गरी झण्डै ८० प्रकारका सेवा केन्द्रले प्रदान गर्छ । तर हालसम्म पनि संस्थाको एम्बुलेन्स नहुँदा सेवा प्रवाहमा कठिनाई उत्पन्न भएको छ । ‘गाउँपालिका र मन्त्रालयमा धेरै पटक धाएँ, तर उपलब्धि शून्य छ ।’ केन्द्रकी प्रमुख डाक्टर शिला ढकालले भनिन्, ‘गाउँबाट केन्द्रसम्म ल्याउने र यहाँबाट रिफर गर्नुपर्ने बिरामिलई निकै समस्या परेको छ ।’
सत्यवती गाउँपालिकाले गत आर्थिक बर्षमा लु १ झ ४३९ नम्बरको डबल क्यापसहितको स्कर्पीयो किन्यो । कुल ४० लाख एक हजार १७२ मा किनेको एसीसहितको स्कर्पीयोमा गाउँपालिका अध्यक्ष पारिश्वर ढकाल लगायत गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले रजाइँ गर्छन् । तर जनताको करबाट नेतालाई गाडी किन्दा नागरिकलाई भने एम्बुलेन्ससम्म पनि खरिद गरिएको छैन ।
यससम्बन्धमा गाउँपालिका अध्यक्ष ढकालले गत बर्ष एम्बुलेन्सको लागि गाउँपालिकाले १२ लाख छुट्याए पनि महेन्द्र कम्पनीको एम्बुलेन्स बन्द भएको कारण ल्याउन नपाएको बताए । ‘पहाडि संरचनाले गर्दा अन्य गाडी चल्दैनन्, भएका दुईवटा टाटा कम्पनीका एम्बुलेन्स काम नलाग्ने भए ।’ उनले भने, ‘बलियो गाडी खाज्दा ढिलाइ भएको छ ।’ यो बर्ष प्रदेश सरकारले पनि सहयोग गर्ने आश्वासन दिएकोले एम्बुलेन्स खरिदको लागि गाउँपालिकाले छ लाख विनियोजन गरेको ढकालले बताए । तर प्रदेशले सहयोग नगरेको खण्डमा अन्य आयोजनाको रकमबाट रकमान्तर गरेरै भएपनि यो बर्ष एम्बुलेन्स किन्ने उनले प्रतिवद्धता व्यक्त गरे । -राजधानी दैनिकबाट