News

धनुषा बम विस्फोटका योजनाकार समातिए

धनुषा बम विस्फोटका योजनाकार समातिए

जनकपुरः धनुषामा एक प्रहरी निरीक्षकसहित तीन जनाको ज्यान जाने गरी भएको बम विस्फोटका योजनाकार पक्राउ परेका छन् । पक्राउ पर्नेमा घटनाका मुख्य योजनाकार आदम राइन रहेका छन् । 

 जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरमा बम विस्फोटको करिब तीन सातापछि घटनाको मुख्य योजनाकारको आरोपमा पक्राउ परेका आदम राईन नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको केन्द्रीय सदस्यसमेत रहेका हुन् । राइनलाई पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ ।

 प्रदेश नं २ का प्रहरी प्रमुख प्रद्मकुमार कार्कीका अनुसार गत मङ्सिर २७ गते राति टाइम बम प्रयोग गरी घटना घटाउने मुख्य योजनाकारसहित ९ जनाको पहिचान भइसकेको छ । महेन्द्रनगर बजारमा रहेको राजेश साहको घरमा टाइम बम राखेर विस्फोट गराइएको थियो । सो बम विस्फोटनमा परी प्रहरी निरीक्षक अमिरकुमार दाहालसहित घरधनी राजेश साह निजको छोरा आनन्द साह गरी तीनजनाको मृत्यु भएको थियो भने दुईजना घाइते भएका थिए ।

सो घटनामा साह बाबुछोराको घटनास्थलमै मृत्यु भएको थियो भने घाइते भएका प्रहरी निरीक्षक दाहालको उपचारका क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो । सो घटनामा संलग्न रहेको आरोपमा प्रहरीले यसअघि तीनजनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा विप्लव समूहका प्रदेश नं २ संयोजक ५१ वर्षीया सीतादेवी महरा, केन्द्रीय सदस्य ४१ वर्षीया ललिता महरा र रामशोभित गाहा रहेका छन् ।

धनुषा धनुषा बम विस्फोट

विशेष