एसियाकै दोस्रो लामो दोधारा–चाँदनी झोलुङ्गे पुलको मर्मत सम्भार सकियो
महेन्द्रनगरः कञ्चनपुर स्थित एसियाकै दोस्रो लामो दोधारा–चाँदनी झोलुङ्गे पुलको मर्मत सम्भारको कार्य सकिएको छ । सुुदूरपश्चिम प्रदेश सरकारको करीब ५० लाख रुपैयाँको लगानीमा गत मंसिर २१ गतेदेखि सुरु गरिएको दोधारा–चाँदनी झोलुङ्गे पुलको मर्मत कार्य सकिएको हो । निर्माण कम्पनी खाम्पाचेर देवभूमि कन्स्ट्रक्सनका प्रोप्राइटर डम्बर दत्त भट्टका अनुसार पुलमा २ सय ८८ स्टिल डेक, ६० आइबोल्ट र तार जाली पनि फेरिएका छन् । त्यस्तै, पुलमा रहेका १२ वटा सेक्सनका सम्पूर्ण नटबोल्ट कसिएका छन् भने सस्पेन्डर समेत सम्याइएको छ ।
पुलको मर्मत कार्य सम्पन्नपछि यात्रुलाई आवतजावत गर्न सहज भएको छ भने जोखिम समेत घटेको स्थानीय बताउँछन् । १५ वर्ष पहिले निर्माण गरिएको १ हजार ४५२.९६ मिटर लम्बाई र १.६ मिटर चौडाईको पुल निर्माण भएपछि महाकाली नदी पारीको माहाकाली नगरपालिका र महाकाली नदी वारीको भीमदत्त नगरपालिकासहित नेपालका अन्य भू–भागको प्रत्यक्ष आवागमन सुरु भएको थियो । त्यस अघि भारतको बाटो भएर आवत–जावत गर्ने गरिन्थ्यो ।
दोधारा–चाँदनी झोलुङ्गे पुलको मर्मतका लागि वर्षौँदेखि स्थानीय सहित सञ्चारमाध्यम र सरोकारवालाहरुले आवाज उठाउँदै आएका थिए । पर्यटकीय दृष्टिकोणले सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको दोधारा–चाँदनी झोलुङ्गे पुलमा हाल दैनिक ३ हजार भन्दा बढी व्यक्तिहरुले आवतजावत गर्ने गर्दछन् । यहाँ दैनिक सयौँ आन्तरिक तथा बाह्य पर्यटक झोलुङ्गे पुलको अवलोकन गर्न आउने गरेका छन् ।
झोलुङ्गे पुल दोधारा–चाँदनी झोलुङ्गे पुल मर्मत सम्भार कञ्चनपुर