News

मनाङमा १५ घण्टासम्म निरन्तर हिमपात, तापक्रम माइनस १२ डिग्री

मनाङमा १५ घण्टासम्म निरन्तर हिमपात, तापक्रम माइनस १२ डिग्री

मनाङः हिमाली जिल्ला मनाङमा १५ घण्टासम्म निरन्तर हिमपात परेको छ । हिमपातका कारण सडक अवरुद्धका साथै खानेपानीको अभाव सिर्जना भएको छ । पहिलो पटकको हिउँ पग्लन नपाउँदै पुनः हिमपात पर्नाले कर्मचारी, सर्वसाधारण र पर्यटकले सास्ती झेल्नुपरेको छ ।

बुधबार बेलुकीदेखि सुरु भएको हिमपात केही समय परेर रोकिए पनि बिहीबार बिहान ७ बजेदेखि पुनः शुरु भएको र बेलुकी १० बजेसम्म बाक्लो हिमपातले जनजीवन कष्टकार बनेको प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले जानकारी दिए । उनका अनुसार सडक अवरुद्ध भएको छ भने खानेपानीको समेत अभाव भएको छ । ‘सडकभरि दुई–तीन फिट हिउँ जमेको छ, पानीको मुहान जमेको छ, बाहिर हिँडडुल गर्नसक्ने अवस्था छैन’ उनले भने, ‘अत्यधिक चिसो छ, यहाँको तापक्रम माइनस १२ पुगेको छ हिटर र दाउरा बालेर बस्न बध्य भएका छौँ ।’

अहिले मनाङको सबै भागमा हिमपात भएको छ । जिल्लाकै सबैभन्दा तल्लो भाग नासो गाउँपालिकासमेत प्रभावित भएको अध्यक्ष चन्द्र घलेले बताए । हिमपातले खेतीपाती राम्रो हुने भए पनि पशुचौपय र मनाव जीवनलाई कष्टकर बनाएको उनको भनाइ छ । जिल्लाको तल्लो भाग ताचैगाउँ, नाँचैगाउँ, ओडारगाउँ र धारापानीमा समेत बाक्लो हिमपात परेको छ । नासो–२ का वडाध्यक्ष भीमबहादुर गुरुङका अनुसार अहिले हिमपात रोकिएको छ, बादल खेलिरहेको छ, पुनः हिउँ पर्ने सम्भावना अझै रहेको छ । गाउँघरमा केटाकेटी र बूढाबूढीलाई चिसोले सकस बनाएको उनले बताए ।  

हिमपात मनाङ

विशेष