News

लाङटाङवासीका घरआँगनमा नाच्न थाले कस्तुरी

लाङटाङवासीका घरआँगनमा नाच्न थाले कस्तुरी

रसुवाः रसुवाको लाङ्टाङ जङ्गलमै दुर्लभ बन्दै गएको कस्तुरी अचेल लाङ्टाङवासीका घरआँगनमा नाच्न थालेका छन् । लाङ्टाङमा कस्तुरीको सङ्ख्यामा वृद्धि भएपछि स्थानीय बासिन्दाका घरआँगनमा कस्तुरी देखिन थालेका हुन् । कस्तुरीका लागि आवश्यक चरिचरन र वासस्थान सुरक्षित भएपछि सङ्ख्या बढेको हो ।

लाङ्टाङ राष्ट्रिय निकुञ्जले यस क्षेत्रका जङ्गलमा दाउरा काट्न नदिएपछि कस्तुरीको सङ्ख्या वृद्धि भएको स्थानीयवासी बताउँछन् । लाङ्टाङवासीले दाउराको सट्टा वैकल्पिक ऊर्जा र ग्यास प्रयोग गर्न थालेसँगै जङ्गल संरक्षण भई कस्तुरी बढ्न थालेको हो । अहिले घरआँगनमा कस्तुरी नाच्न थालेको स्थानीय ग्याल्बु लामाले बताए।

लाङ्टाङमा वैकल्पिक ऊर्जा प्रयोग र जङ्गल संरक्षण गर्न राष्ट्रिय निकुञ्ज, नेपाली सेना, मध्यवर्ती क्षेत्र उपभोक्ता समूह र हिम चितुवा संरक्षण समूहले नियमित गस्ती थालेपछि कस्तुरी तथा वन्यजन्तु बढेका छन् । लाङ्टाङ गाउँमाथि र क्यान्जिन हिम उपत्यका पारिको जङ्गलमा ठूलो सङ्ख्यामा कस्तुरी देख्न थालिएको लामाले बताए ।

“अहिले गाउँका कोही पनि जङ्गलमा काठ, दाउरा काट्न जाँदैनन्, दाउराको साटो घरघरमा ग्यास र मट्टितेल बाल्न थालेपछि वन विनाशमा कमी आएको छ । क्यान्जिनका केही होटलले गोबरका गुइँठा प्रयोग गर्ने गरेका छन्,” धेरैपटक लाङ्टाङको भ्रमण गरेका ललिपुरका स्वयम्भू डङ्गोलले भने, “यसअघि चराहरू देख्न पाइएको थियो । यस वर्ष समूह–समूहमा कस्तुरी नाचेको देख्दा रमाइलो लाग्यो ।”

कस्तुरीको समूहले पर्यटकको मन लोभ्याउनाले यहाँ आउने पर्यटक बढ्ने उनले बताए । विद्युत्को राष्ट्रिय प्रसारण लाइन पुग्न नसकेको यस स्थानमा लघु जलविद्युत् आयोजना बनेपछि दाउराको प्रयोग कम भएको छ । यसले जङ्गल जाने र रुख काट्ने क्रम घटेको छ । गत वर्ष क्यान्जिङमा जलविद्युत् आयोजना निर्माण भएपछि क्यान्जिङ र लाङ्टाङ गाउँमा बत्ती बलेपछि नियमित खाना पकाउन पनि सजिलो भएको स्थानीय सुप्पा लामाले बताए । यो समाचार आजको गोरखापत्र दैनिकबाट लिइएकोे हो ।

विशेष