सामुदायिक वनका अध्यक्ष र कोषाध्यक्ष घुससहित पक्राउ
कैलाली – कैलालीमा एक सामुदायिक वनका अध्यक्ष र कोषाध्यक्ष घुससहित पक्राउ परेका छन्। सिद्धनाथ सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कुवेर थापा र कोषाध्यक्ष मोहनबहादुर सिंह १ लाख ६० हजार घुससहित पक्राउ परेका हुन् ।
कानीखोला पुल नजिकबाट माटो झिकिरहेको अवस्थामा सामुदायिक वनका अध्यक्ष र उपाध्यक्षले डोजर र ट्याक्टर नियन्त्रणमा लिएर घुस मागेका थिए।
डोजर र ट्याक्टर छाड्नका लागि घुस मागेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कन्चनपुरबाट खटिइएको टोलीले थापा र सिंहलाई नियन्त्रणमा लिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
सामुदायिक वन उपभोक्ता समुहको कार्यालयबाट उक्त रकमसहित दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको उनले बताए ।