भ्रष्टाचार विरुद्ध विशेष कोर्षका लागि नेपाली अधिकारीहरूको भारतमा प्रशिक्षण
काठमाडाैँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका २१ जना अधिकारीको दाेस्राे ब्याचले भारतको गुजरातको गान्धीनगरस्थित गुजरात फरेन्सिक साइन्सेस युनिभरसिटी (जीएफएसयू) मा ‘ठगी तथा घूसखोरी र भ्रष्टाचार निवारण’ विषयक आजदेखि ६ दिने प्रशिक्षण सुरु भएकाे छ ।
यस प्रशिक्षण कार्यक्रमले नेपाली अधिकारीको क्षमता विकासमा भारतको निरन्तर साथ सहयाेग र प्रतिबद्धता रहेकाे पुष्टि गर्दछ ।
नेपाल सरकारको आग्रहमा आयोगका कूल ४२ अधिकारीका लागि तयार पारिएकोे यो एक विशेष कोर्षकाे दाेस्राे ब्याचकाे प्रशिक्षण यति बेला चलिरहेकाे छ। नेपालमा भ्रष्टाचारका गतिविधिहरुमा अंकुश लगाउन एवम् सुशासन कायम राख्न यो कोर्षले आयोगको संस्थागत क्षमतालाई सुदृढ पार्नेछ ।
मुख्यतः भ्रष्टाचारका कारकहरुको पहिचान, अर्थतन्त्रमा यसको प्रभाव तथा यसको पहिचान र रोकथामका लागि प्रयोग हुने विधिहरुमा यो कोर्ष केन्द्रित रहेकाे आयाेजकले जनाएकाे छ । सूचना प्रविधिमा आधारित अनुसन्धानका लागि यो कार्षले अधिकारीको सीप अभिवृद्धि गर्नुका साथै उनीहरुको विश्लेषणात्मक क्षमतालाई तिखारी नयाँ विधिहरु सिक्नलाई मद्दत गर्नेछ । अन्ततः यसले भ्रष्ट तथा ठगी गर्ने व्यक्तिहरुको पहिचान, निवारण एवम् कानूनी कारवाही गर्न यी अधिकारीलाई सक्षम बनाउने छ ।
फरेन्सिक विज्ञान, अपराध अनुसन्धान, सुरक्षा तथा व्यवहार विज्ञान र अपराध विज्ञान क्षेत्रमा फरेन्सिक विज्ञलाई प्रशिक्षण दिनका लागि प्रख्यात गुजरातको गान्धीनगरस्थित गुजरात फरेन्सिक साइन्सेस युनिभरसिटीमा अधिकारीलाई प्रशिक्षण दिइएको छ । भारत सरकारको पूर्ण सहयोग रहेको याे कोर्ष भारतीय विदेश मन्त्रालयको प्राविधिक तथा आर्थिक सहयोग (आइटइसी) कार्यक्रम अन्तर्गत रहेको छ ।