चार दिन काम, तीन दिन आराम
विश्वकै कान्छी प्रधानमन्त्री फिनल्याण्डकी सन्ना मरिनले काम गर्नका लागि नयाँ योजना बनाएकी छिन् ।सन्ना मरिनले चार दिन काम र तीन दिन आरामको योजना ल्याएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । कामको दिनमा पनि ६ घण्टा मात्र काम गर्नुपर्ने सन्ना मरिनले योजना ल्याएकी छिन् ।
आफ्ना नागरिकले परिवारसँग पर्याप्त समय बिताऊन् भन्ने उद्देश्यले यो प्रस्ताव ल्याएको उनले बताएकी छन् । आफ्नो दल सोसल डेमोक्र्याटिक पार्टीको १२० औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै मरिनले नयाँ व्यवस्था ल्याउन लागेको जानकारी दिएकी हुन् ।
छिमेकी देश स्वीडेनले ६ घण्टाको काम परीक्षण गर्दा त्यहाँका कर्मचारी खुशी भएको र कामको प्रभावकारीता बढेपछि फिनल्याण्डमा पनि त्यही नीति अवलम्ब गर्न लागेको उनको भनाइ छ ।
गत डिसेम्बरमा सोसल डेमोक्र्याटिक पार्टीले ३४ वर्षीया मरिनलाई फिनल्याण्डको प्रधानमन्त्री बनाएको थियो । मरिनको नेतृत्वमा बनेको गठबन्धनको सरकारमा सबै दलका महिला प्रतिनिधि छन् जसमध्ये चार जना ३५ वर्षभन्दा कम उमेरका रहेका छन् । एजेन्सी