News

निरन्तरको बर्षा र हिमपातले किसान खुसी

निरन्तरको बर्षा र हिमपातले किसान खुसी

ओखलढुंगाः ओखलढुंगाको माथिल्लो भू–भागमा लगातार हिमपात भइरहेको छ । तिनदेखि २ हजार मिटरभन्दा माथिको उचाइमा रहेका भू–भागमा हिमपात भएको हो । हिमपात र पानी परेका कारण माथिल्लो भेगमा रोपिएको उवा, गहुँमा सिंचाइ पुगेको कारण किसान हर्षित भएका छन् । पानी र हिउँ परेपछि आलु रोप्ने बारी तथा बुङ निर्माण गर्न समेत सहज हुने भएपछि किसान उत्साहित भएका हुन् ।

हिमपातले चिसो बढे पनि किसानलाई फाइदा पुगेको खिजीदेम्वा गाउँपालिका अध्यक्ष बेदबहादुर राकालले बताए । चिसो त बढ्यो तर, हिमपातले किसानलाई फाइदा पुगेको छ भने पुस माघमा हिमपात हुँदा समयमा पानीका मुलहरु निस्कने, सुख्खा नलाग्ने भएकाले हिमपात भएको साललाई राम्रो समय मानिने उहाँको भनाई छ । हिउँ परेपछि केही समय चिसो हुने बस्तुभाउलाइ केही समस्या हुने भए पनि खेतीपातीका लागि सहज हुने खिजीदेम्वा–९ का मङिमार तामाङको भनाई छ ।

खिजीदेम्वा गाउँपालिकाको वडा नं. १ बाहेकको अधिकांश भू–भाग, मोलुङ र सिद्धिचरण नगरपालिकाको माथिल्लो क्षेत्र, लिखु, चम्पादेवी र सुुनकोशीको माथिल्लो भुभागमा हिमपात हुन्छ । वर्षादमा थोरै मकैसमेत उत्पादन हुने भए पनि लेकाली क्षेत्रको मुख्य खाद्यबाली आलु, उवा र गहुँ हो । हिउँदमा पानी र हिउँ पर्दा लेकाली क्षेत्रमा खाद्य उत्पादन बढ्ने भएकाले हिउँ परेपछि सहकालको समय सुरु भएको भन्ने चलन छ ।

निरन्तरको वर्षा र हिमपातले सिद्धिचरण राजमार्ग अन्तर्गत ओखलढुंगा–सोलु खण्ड पुर्ण रुपमा बन्द भए पनि आईतबार साँझ देखी आंशिक रुपमा सुचारु भएको छ । अत्याधिक चिसो बढे पछि साना वालबालिका र बृद्धबृद्धामा श्वासप्रस्वासमा समस्या हुने भएका कारण न्यानो भएर घर भित्रै बस्न चिकित्सकहरुले सल्लाहरदिएका छन् । सदरमुकाम लगायत माथिल्लो भेगमा तापक्रम शून्य भए पछि जनजीवन प्रभावित बनेका छ । रासस

हिमपात खुसी बर्षा ओखलढुंगा

विशेष