News

नुवाकोट पुग्यो गोरखाबाट हिँडेको ‘एकीकरण टर्च’ र्‍याली

नुवाकोट पुग्यो गोरखाबाट हिँडेको ‘एकीकरण टर्च’ र्‍याली

नुवाकोटः नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाह हिँडेको बाटोमा पदयात्रा सुरु गरेको नेपाली सेनाको ‘एकीकरण टर्च’र्‍याली आज नुवाकोटको विदुर नगरपालिका–१० शुभघाट आइपुगेको छ । शुक्रबार गोरखाबाट हिँडेको र्‍याली काठमाडौंसम्म नै पैदल जाने क्रममा धादिङबाट भर्‍याङभुरुङ हुँदै नुवाकोटको शुभघाट आइपुगेको हो ।

शुभघाटमा आइपुगेको टोलीलाई नेपाली सेनाको ६ नं बाहिनीपति सहायकरथी लवकुमार रायमाझीसहित विदुर नगरपालिकाको नगरप्रमुख सञ्जु पण्डित, वडा नं १० का वडाध्यक्ष गणेशकुमार नेपाललगायत स्थानीयवासीले भव्य रुपमा स्वागत गरेका छन् ।

नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाहले प्रयोग गरेको मार्गलाई एकीकरण पदमार्गको रुपमा विकास गर्ने योजनाअनुसार गोरखाबाट निकालिएको ‘एकीकरण टर्च’ धादिङको देवीदत्त गणका गणपति सुदीप बानियाँले नुवाकोटको जबरजंग गणका गणपति उदयबहादुर लामिछानेलाई आज मध्याह्न भर्‍याङ–भुरुङमा हस्तान्तरण गरे ।

नुवाकोटको जबरजंग गणको नेपाली सैनिकले ग्रहण गरेको एकीकरण टर्च’ नुवाकोटको सामरी स्थित पृथ्वीनारायण शाहले बास बस्ने तथा उहाँको सैनिक फौज बसेको पौवामा आएर विशेष कार्यक्रम पश्चात नेपाल एकीकरणको समयमा गोर्खाली फौज हिँडेको पदमार्ग पछ्याउँदै सामरीभञ्याङ, कागुने, डेउडी, राइसिंह, बाघटार, कोलनी, खिन्चेत हुँदै बाजागाजा तथा नाचगान शुभघाट आइपुगेको हो ।

पृथ्वीनारायण शाह नेपाल एकीकरण एकीकरण टर्च पदयात्रा

विशेष