जनकपुर उपमहानगरपालिकामा पत्रकार र मेयरबीच घम्साघम्सी
जनकपुरधाम – जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साह र पत्रकारहरुबीच घम्साघम्सी भएकाे छ। समाचार संकलनका लागि महानगरमा गएका पत्रकार र मेयरबीच घम्साघम्सी भएपछि केही समय कार्यालयकाे काम अस्तब्यस्त बनेकाे थियाे ।
जानकी मन्दिरको जग्गा अतिक्रमणसम्बन्धी समाचारका लागि प्रतिक्रिया लिन पत्रकार महानगरमा पुगेका थिए।मेयर साहले आफ्नो समय नै नलिएर आएका पत्रकारलाई कुनै प्रतिक्रिया नदिने भनेपछि दुई पक्षबीच विवाद उत्पन्न भएको थियो ।
दुवै पक्षबीचको विवादले झडपको स्थिति सिर्जना भएपछि उपमहानगरपालिकाको प्रहरीले पत्रकारहरुलाई बाहिर निकालेको छ ।तर, प्रतिक्रिया लिन गएका पत्रकारहरुले भने आफूहरुलाई कोठामा थुनेर कुटेको आरोप लगाएका छन् ।
मेयर साहले आफ्नो कार्यकक्षको ढोका थुन्न लगाइ आफ्ना आसेपासे र नगर प्रहरी लगाएर आफूहरुमाथि कुटपिट गरेको पीडित पत्रकारहरुको भनाइ छ ।
नेपाल पत्रकार महासंघ घनुषा शाखाका सभापति समेत रहेका अनिल मिश्र, पत्रकारहरु अमरकान्त अमर, विकास साह, समित मिश्र लगायतले आफूहरुमाथि मेयरले कुटपिट गरेका आरोप लगाएका छन् । तर, मेयर साहले भने पत्रकारले नै आफूमाथि पहिले हातपात गरेको बताएका छन् ।