इजरायल रोजगारी खुलाउने तयारी हुँदै : मन्त्री यादव
काठमाडौं- पछिल्लाे समय खाडी मुलुकमा मात्र नेपाली कामदारहरु गइरहेकाे अवस्थामा सरकारले भने इजरायलमा राेजगारी खुलाउने तयारी गरिरहेकाे छ।
श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले इजरायलमा रोजगारी खुलाउन पहल गर्ने बताए। आफ्नो तीन महिने कार्ययोजना तथा प्रगति विवरण पेश गर्दै उनले बन्द रहेको इजरायल रोजगारी खुलाउन पहल भइरहेको बताए।
आफु मन्त्री भएको डेढ महिनामा ३ हजार ६ सय ६६ जनालाई सिपमुलक तालिम दिएको उनले बताए। उनले अबको तीन महिनामा श्रम बैंकलाई सुचारु गर्ने र श्रमिक बैंक गठन गर्नलाई गृहकार्य गर्ने योजना समेत बनेकाे सुनाए।
निजी क्षेत्रसँग मिलेर काम गर्ने लगायतका कार्ययोजना उनले पेश गरे। यो वर्ष मात्र ६० हजारलाई बेरोजगार भत्ता वितरण गर्ने मन्त्रालयको योजना रहेको छ। गत वर्ष १ लाखले बेरोजगार भत्ता पाएका थिए। उनले वैदेशिक रोजगारलाई थप व्यवस्थित गर्न वैदेशिक रोजगार ऐनलाई संशोधन गर्ने तयारी भइरहेको समेत बताए।
उनले ३६ वटा कामको विवरण पेश गर्दै उनले जापान रोजगारीमा पठाउन पनि पहल भइरहेको बताए।