News

विद्यार्थीद्वारा सिंहदरबार अगाडि आत्मदाह गर्ने चेतावनी

विद्यार्थीद्वारा सिंहदरबार अगाडि आत्मदाह गर्ने चेतावनी

काठमाडौं – चक्रवती हबी एजुकेशन एकेडेमी कलेज अफ नर्सिङ साइन्स कलेजका विद्यार्थीहरुले आत्मदाहको चेतावनी दिएका छन् ।अदालतको आदेशले आफू अध्ययनरत कलेज नै खारेजीमा परेपछि ३० जना विद्यार्थीहरुले आत्मदाहको चेतावनी दिएका हुन् ।

रिपोर्टर्स क्लब नेपालमा मंगलबार पत्रकार सम्मेलन गर्दै पीडित विद्यार्थी संघर्ष समितिले आन्दोलनको घोषणा गर्दै आत्मदाहसम्म गर्ने चेतावनी दिएका हुन् ।उनीहरुले आफूहरुको भविष्य अन्धकारमा पारिएको भन्दै सिंहदरबार अगाडि आत्मदाह गर्ने चेतावनी दिए ।

'हामीमाथि अन्याय हुँदा पनि सुनुवाई हुँदैन भने आत्मदाह गर्न वाध्य हुनेछौं', पीडित विद्यार्थी संघर्ष समितिकी संयोजक अनुष्का चौलागाईंले भनिन् ।

दुर्गम गाउँबाट नर्स बन्ने सपना बोकेर आएका उनीहरु भर्ना भएकाे कलेज खारेजीमा परेपछि परीक्षा दिनबाट वञ्चित भएका छन् ।

उनीहरुले सीटीइभीटी देखि शिक्षा मन्त्रालयसम्म धाउँदा पनि परीक्षा दिन नपाएपछि दुई वर्ष नर्सिङ अध्ययन खेर गएको थियो । पत्रकार सम्मेलनमा छात्रा अनुष्का चौलागाईँले कलेजको गल्तीको सजाय आफूहरुले पाउन नहुने बताइन् । सरकारले आफूहरुलाई न्याय नदिए कडा कदम चाल्न वाध्य हुने उनको भनाइ थियो ।

पीडित विद्यार्थी संघर्ष समिति चक्रवर्ती नर्सिङ कलेजकी अध्यक्ष प्रेमिका शाही सिटिईभिटी र कलेज विचको विवादको कारण विद्यार्थीहरुले समस्या भोग्नु परेको जानकारी दिइन् ।

उनले कात्तिक ४ मा सर्वोच्चले कलेज खारेजीको फैसला गरेपछि शिक्षामन्त्रालय जादाँ शिक्षामन्त्री गिरिराजमणि पोखरेलले उल्टै विद्यार्थीको गल्ती देखाएर गैरजिम्वेवारीपूर्ण जवाफ दिएको खुलाइन् । उनले भनिन्, हामीलाई उल्टै गल्ती गरेको भनियो । राज्यको जिम्मेवार अधिकारीले हामीलाई थप पीडित बनाएकाे बताइन् ।

२०७५ सालमा भर्ना भएका ३० जना छात्राहरुको कलेजले बिचल्लीमा पारेपछि अधिकारका लागि निरन्तर लड्दै आएको शाहीले बताइन्।

२२ साउनमा सिटिइभिटीलाई अदालतले स्टे अर्डर दिएपनि २०७६ सालमा कलेज खारेज भएको बताइन् । नर्सिङका छात्राहरुले दिन लागेको परिक्षा सिटिईभिटीले रोकेको खुलाइन् । सिटिभिटीसंग कुरा गर्दा समस्याको समाधान गर्ने आश्वासन दिए पनि समस्या भने जस्ताको त्यस्तै रहेको शाहीले बताइन् ।

पत्रकार सम्मेलनमा परीक्षा दिन नपाएर पीडामा परेका ३० जना विद्यार्थी उपस्थित थिए । उनीहरुले आँसु बगाउँदै आफूहरुलाई न्याय दिनका लागि संघर्षमा साथ दिन सबैसँग आग्रह गरेका थिए ।

विशेष