News

सुर्खेतमै १८ सय छाउगोठ, चार दिनमा ३ सय हटाईए

सुर्खेतमै १८ सय छाउगोठ, चार दिनमा ३ सय हटाईए

सुर्खेत। कर्णाली प्रदेशको राजधानी सुर्खेतमा १८ सय बढी छाउगोठहरु रहेको पाइएको छ । विशेषगरी पश्चिम सुर्खेतको बराहताल गाउँपालिका, चौकुने गाउँपालिका र पञ्चपुरी नगरपालिकामा त्यतिको संख्यामा छाउगोठहरु रहेको पाइएको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ ।

गृह मन्त्रालयले पुस ८ गते छाउगोठ मान्नेहरुलाई कारबाही गर्न परिपत्र दिएपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले पुस १३ गते कार्ययोजना बनाएको थियो । सोही कार्ययोजना अनुसार कारबाही तथा सचेतनामूलक कार्य सँगसँगै अगाडि बढाइएको प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले बताउनुभयो ।

पुस १८ गते बराहतालको वडा नं. ६ देखि छाउगोठ भत्काउन शुरु गरिएको भन्दै उहाँले सोमबार चार दिनमा तीनसयवटा छाउगोठहरु भत्काइएको जानकारी दिनुभयो । प्रदेश राजधानी सुर्खेतका बराहताल गाउँपालिका, चौकुने गाउँपालिका र पञ्चपुरी नगरपालिकामा भएका छाउगोठहरुको लगत लिने काम थालिएको र सो क्रममा अठारसय बढी छाउगोठहरु रहेको पाइएको प्रजिअ अधिकारीले बताउनुभयो ।

ती पालिकाहरुमा कर्मचारीहरु पनि खटाउँदै स्थानीय तह, प्रहरी, सशस्त्र प्रहरीहरुको सहयोगमा धमाधम छाउगोठहरु भत्काइएको छ । यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ।   

छाउगोठ

विशेष