News

नेपाल रङमा आत्मनिर्भर, वार्षिक ३० अर्बको खपत

नेपाल रङमा आत्मनिर्भर, वार्षिक ३० अर्बको खपत

चितवनः नेपाल रङ उत्पादनमा आत्मनिर्भर भएको बताइएको छ । नेपालमा वार्षिक ३० अर्ब रुपैयाँ बराबरको रङको खपत हुने गरेकोमा त्यसको अधिकांश हिस्सा स्वदेशी उद्योगकै उत्पादन रहेको उद्योगीहरूले बताएका छन् । 

चितवनस्थित जम्सिन पेन्ट्सका प्रमुख लक्ष्मण अर्यालका अनुसार नेपालमा स्वदेशी उत्पादनबाहेक बहुराष्ट्रिय कम्पनी, भारतीय कम्पनीका रङ नेपालमा आउने गरेका छन् तर विदेशी रङ जत्तिकै गुणस्तरीय नेपाली उत्पादनका रङ रहेको दाबी उनले गरे । चितवनका रङ उद्योगले वार्षिक तीन अर्ब रुपैयाँ बराबरको उत्पादन गर्दै आएका छन् । नेपाली रङको बजारमा यहाँको उद्योगले जिल्लाको मागलाई पूरा गरेर देशभर नै आफ्ना उत्पादन पुर्‍याएको उद्योगीले जानकारी दिएका छन् ।

२५ वर्षदेखि रङ उत्पादन गर्दै आएको जस्मिन पेन्ट्सका उत्पादन देशभर रहेको उनले बताए । प्रमुख अर्यालले भने, ‘नेपाल रङमा आत्मनिर्भर भइसकेको छ, यहाँको मागलाई स्वदेशी उत्पादनले पुगेको छ ।’ उनका अनुसार चितवनमा रहेका उद्योगले मात्रै वार्षिक तीन अर्ब रुपैयाँ बराबरको कारोबार गरेका छन्, जुन चितवनको आन्तरिक मागको दोब्बरले बढी उत्पादन हो । अर्यालले भने, ‘एक अर्ब ५० करोड रुपियाँको रङ चितवनमा खपत हुन्छ तर यहाँका उद्योगले वार्षिक तीन अर्ब रुपैयाँको रङ बिक्री गरेका छन् । यहाँका केही उद्योगले चितवनसहित तराईका जिल्ला, नेपालभरि र आसपासका क्षेत्रमा रङ बिक्री गर्दै आएका छन् ।’

चितवनमा नै उद्योग रहेर १९ जिल्लाभन्दा धेरै स्थानमा बिक्री गर्दै आएको एपोलो पेन्ट्सका सञ्चालक ईश्वर गौतमले चितवनका उद्योगले उत्पादन गरेको रङको बजार राम्रो रहेको र माग नेपालभर रहेको बताए । उनका अनुसार नेपाली रङको गुणस्तर पनि राम्रो रहेको छ, जुन पाँचदेखि सात वर्ष टिक्छ ।

त्यस्तै नेपालमा रहेका ठूला साना गरी ४५ रङ उद्योगमध्ये नेपाल गुणस्तर चिह्न प्राप्त पनि रहेका छन् । चितवनमा मात्र विराज, तिरुपति, एपोलो, जस्मिनलगायत गरी एक दर्जन उद्योग रहेका छन् । यो समाचार आजको गोरखापत्र दैनिकबाट लिइएको हो ।

चितवन आत्मनिर्भर रङ

विशेष