News

इराकको क्याम्पबाट विदेशी फर्काउन सुरु, ७ जना नेपाली फर्किए

इराकको क्याम्पबाट विदेशी फर्काउन सुरु, ७ जना नेपाली फर्किए

काठमाडौँ। इराकको राजधानी बग्दादस्थित अमेरिकी बेस क्याम्पमा रहेका नेपालीसहित विदेशी कामदारलाई आ–आफ्नो देश फर्काउन थालिएको छ । उक्त क्याम्प सुरक्षाका हिसाबले उच्च जोखिममा पर्छ । क्याम्पभित्र करिब दुई सय नेपाली कार्यरत छन् । 

इरान र अमेरिकाबीच तनाव चुलिएपछि बग्दादस्थित अमेरिकी सेनाका लागि सहयोगीको काम गरिरहेका कम्पनीले आवश्यक कामदार राखेर बाँकीलाई आइतबारदेखि पठाउन थालेका हुन् । आइतबार र सोमबार फर्काइएको टोलीमा नेपाली सात जना छन् । ‘कम्पनीले हामीलाई जतिखेर पनि फर्काउने अवस्थामा तैनाथ गरेर राखेको छ,’ अमेरिकी बेस क्याम्पभित्र स्टोर म्यानेजरका रूपमा कार्यरत सुरज तामाङले कान्तिपुरसँग फोनमा भने, ‘आ–आफ्नो लगेज प्याक गरेर राखिसकेका छौं ।’

१२ वर्षदेखि क्याम्पमा कार्यरत तामाङले कम्पनीबाट खबर आउनेबित्तिकै इराक छोड्ने तयारीमा आफूहरू रहेको बताए । ‘जतिखेर जे पनि हुन सक्छ भनेर हामीलाई सूचना दिइएको छ,’ उनले भने, ‘अमेरिकी सेना र हाम्रा लागि अपनाइएको सुरक्षा रणनीति एउटै हो ।’ उनका अनुसार अमेरिकी बेस क्याम्पभित्र धेरै कम्पनी काम गर्छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा होम कार्कीले लेखेका छन।  

 

इराकका क्याम्प

विशेष