News

चार दिनदेखि मुगु सञ्चारविहीन, रारा हेर्न गएका पर्यटक मर्कामा

चार दिनदेखि मुगु सञ्चारविहीन, रारा हेर्न गएका पर्यटक मर्कामा

मुगुः नेपाल टेलिकमका सबै सञ्जालले काम गर्न छाडेपछि मुगु ४ दिनदेखि सञ्चारविहीन भएको छ । जुम्लाको डाँफे लेकमा अवस्थित टेलिकमको टावरको रेडियो लिङ्कमा हिमपातले समस्या ल्याएपछि सो टावरबाट मुगु जिल्लामा सञ्चालित जिएसएम, एसटिडी सञ्जालले काम गर्न छाडेका छन् । यसैगरी एडिएसएल इन्टरनेट सेवा पनि जिल्लाभर अवरुद्ध भएको छ । गत बिहीबारदेखि शुक्रबारसम्म सो लेकमा निरन्तर हिमपात परेको जनाइएको छ ।

इन्टरनेट सेवा अवरुद्ध भएपछि जिल्लाका सरकारी तथा गैरसरकारी सङ्घसस्था, वित्तीय कारोवार गर्ने सहकारी तथा बैंक र स्थानीय तहको सेवा प्रवाहमा समस्या आएको छ । राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय मुगुका प्रबन्धक हरिन्द्र बोहोराले इन्टरनेट सेवा अवरुद्ध हुँदा बैंकमा सेवाग्राहीको भीड लाग्ने गरेको र बैंकका सबै प्रणाली चलाउन समस्या आएको जानकारी दिए । 

बैंकको आन्तरिक इन्टरनेट सेवा भिस्याटबाट सञ्चालन गरिएपनि यसको गति सुस्त रहेको छ । छायाँनाथ रारा नगरपालिका वडा नं ४ भामवाडा गाउँका सेवाग्राही विष्णुबहादुर भण्डारी बैंकमा रहेको आफ्नो खातामा बचत के कति छ भनेर बुझ्न आएको तीन घण्टा भइसक्दा पनि थाहा पाउन नसकेको गुनासो गरे । 

इन्टरनेट सेवा नचलेपछि विभिन्न सेवा आयोगमा खुलेका विज्ञापनका लागि आवेदन फाराम भर्न र राजश्व दस्तुर जम्मा गर्न पनि समस्या भएको विद्यार्थी बताउँछन् । जिल्लाकै ठूलो वित्तीय संस्था छायाँनाथ साकोसका लेखापाल लोकराज शाहीले लघुवित्तको कारोवार, लगानी, बचत, भुक्तानीजस्ता काम गर्न समस्या भएको जानकारी दिए ।

टाढा– टाढाबाट जिल्ला सदरमुकाममा आउने सेवाग्राही इन्टरनेट नहुँदा निरास भएर फर्कने गरेका छन् । प्रमुख पर्यटकीय क्षेत्र रारामा आउने पर्यटकसमेत मर्कामा परेका छन् । नागरिकले आफ्ना आफन्तजन र अन्य कारोवारका लागि सम्पर्क गर्न पाएका छैनन् । इन्टरनेट नहुँदा स्वयं नेपाल टेलिकमको मुगु कार्यालयलाई समेत बिल भुक्तानी, सिम बिक्रीलगायतका काम गर्न गाह्रो भएको टेलिकम मुगुले बताएको छ । रासस

मुगु रारा ताल सञ्चारविहीन

विशेष