३३ किलो सुन तस्करी प्रकरण : फरार अभियुक्त बाजेको सेकुवाका संचालक धरौटीमा छुटे
काठमाडाैँ – ३३ किलो सुन तस्करी प्रकरणमा फरार रहेका बाजेको सेकुवाका संचालक चेतनाथ भण्डारी धरौटीमा रिहा भएका छन् । छानबिन सुरू भएपछि फरार भण्डारीलाई सोमबार मोरङ जिल्ला अदालतले धरौटीमा रिहा गरेको हो ।
अदालतको आदेशलगत्तै बैंक ग्यारेन्टी राखेर भण्डारी सोमबार नै रिहा भएको जिल्ला अदालत मोरङका स्रेस्तेदार ईश्वरमणि ओझाले जानकारी दिए । जिल्ला न्यायाधीश मेदनीप्रसाद पौडेलको इजालसले भण्डारीलाई १० लाख धरौटीमा छाड्न आदेश दिएको हो। फरार भण्डारी सोमबार अदालतको सम्पर्कमा आएको र उनको सोही दिन बयान तथा थुनछेक बहसपछि धरौटीको छाड्ने आदेश भएको ओझाले जानकारी दिए ।
यो मुद्दामा फरार १२ जनालाई इन्टरपोलले 'रेड कर्नर नोटिस' जारी गरेको थियो । झापा गौरादह नगरपालिका–१८ का भोजराज भण्डारी, काठमाडौं महानगरपालिका–९ का चेतनाथ भण्डारी, सिरहा धनगढीमाई नगरपालिका–१२ का रोहित आचार्य, सोलुखुम्बु दूधकुण्ड गाउँपालिका–८ का टुकबहादुर मगर, धरान उपमहानगरपालिका–२ का कृष्ण बस्नेत, धरान उपमहानगरपालिका–३ का मोहनकुमार अग्रवाल, झापा मेचीनगर नगरपालिका–१३ का मोहम्मद उस्ताम मियाँविरुद्ध ‘रेड कर्नर नोटिस’ जारी भएको थियो ।
भण्डारी यो नोटिसको दुई नम्बर सूचीमा थिए । हराएको साढे ३३ किलो सुन विमानस्थलबाट तस्करी भएको र यसमा भण्डारीसहितको ठूलो समूह संलग्न रहेको देखिएपछि सरकारले संगठित अपराध ऐनअनुसार १८ चैतमा सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा ‘विशेष अनुसन्धान टोली’ गठन गरेको थियो । अनुसन्धानका क्रममा विमानस्थलका कर्मचारी र प्रहरीकै मिलेमतोमा ५ वर्षदेखि ठूलो मात्रामा सुन तस्करी भइरहेको तथ्य खुलेको थियो, जसमा प्रहरीको समेत मिलेमतो खुलेको थियो ।