बढेन सर्वोच्चको मुद्धा फस्र्योट दर
काठमाडौँ। आर्थिक वर्ष २०७१/७२ को अन्त्यसम्म सर्वोच्च अदालत ११ जना न्यायाधीशमा सीमित भयो । जिम्मेवारी सरेकासमेत २८ हजार २७५ थान मुद्दामध्ये सर्वोच्चले मुस्किलले साढे छ हजार मुद्दा टुङ्ग्यायो । मुद्दा फस्र्योट दर करिब २३ प्रतिशतमै सीमित भयो ।
कुनै बेला सर्वोच्चमा अस्थायीसमेत २५ सम्म न्यायाधीश पुगे र २२ जनासम्म न्यायाधीशले वर्षभरि नै काम पनि गरे । मुद्दा फस्र्योट दर अपेक्षित नभए पनि केही सुधारियो । सर्वोच्चले हालै राष्ट्रपतिसमक्ष बुझाएको प्रतिवेदनअनुसार मुद्दा फस्र्योट दर ३०.७६ प्रतिशत छ । सर्वोच्चमा २१ न्यायाधीशले कार्यसम्पादन गरेका थिए ।
सर्वोच्चमा १२ न्यायाधीश हुन् वा २२ जना । फैसला दर उल्लेख्य र उत्साहप्रद भने तथ्याङ्कमा भेटिन्न ।
औसत ३०–३२ प्रतिशतको हाराहारीमै पछिल्लो दशकमा कार्यसम्पादन भइरहेको छ । नयाँ संविधान जारी भएपछि प्रधानन्यायाधीशसमेत २१ न्यायाधीश सर्वोच्चमा रहने संवैधानिक व्यवस्था छ । न्यायाधीश नियुक्ति पनि करिब समयमै छ । तर, फैसलामा भने उल्लेख्य सुधार छैन ।
रिटको अनुपात बढ्नु, अन्तरिम आदेशकै लागि लामो समयसम्म इजलास व्यस्त रहनु तथा बन्दीप्रत्यक्षीकरणका निवेदन वृद्धि हुनुले सर्वोच्चको कार्यबोझ बढेको प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको विश्लेषण छ । कार्यबोझको असर मुद्दा फस्र्योटमा परेको उहाँको भनाइ छ ।
यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ।
#सर्वोच्च