नयाँ शैक्षिक सत्रका लागि १ अर्बको पाठ्यपुस्तक
काठमाडौं। नयाँ शैक्षिक सत्र सुरु हुनै लाग्दा जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले पाठ्यपुस्तक छपाइको कामलाई तीव्रता दिएको छ । विद्यालय तहको पाठ्यपुस्तक छपाइको काम जनक शिक्षा सामग्री केन्द्र लिमिटेड र केही निजी छापाखानाले लिँदै आएका छन् । सोअनुरूप लक्ष्य चुम्न दैनिक १ लाख थान पाठ्यपुस्तक छपाइ भइरहेको केन्द्रले जनाएको छ ।
केन्द्रले आगामी शैक्षिक सत्र २०७७ का लागि २ करोड ११ लाख थान पाठ्यपुस्तक छाप्ने लक्ष्य लिएको छ । सोअनुरूप हालसम्म १ करोड ११ लाख थान पाठ्यपुस्तक छपाइको काम सकिएको छ । कक्षा २, ३, ४, ५, ९ र १० का पाठ्यपुस्तक छापिसकिएको केन्द्रले जनाएको छ । हाल कक्षा ६, ७ र ८ को पाठ्यपुस्तक छाप्ने काम भइरहेको छ । त्यसका लागि २ सय ५० कर्मचारी खटिएका छन् । पाठ्यपुस्तक छाप्न १ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । कक्षा १ को पाठ्यपुस्तक भने केही समयपछि छापिने केन्द्रले जनाएको छ ।
कक्षा २ देखि १० सम्मका लागि आवश्यक २ करोड ११ लाख थान पाठ्यपुस्तकमध्ये १ करोड ११ लाख थान छापिएको छ । ती पाठ्यपुस्तक वितरणका लागि तयारी अवस्थामा राखिएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका अनुसार कक्षा २ देखि ५ सम्म र कक्षा ९, १० का १ करोड ११ लाख थान पाठ्यपुस्तक छापिएको छ । केन्द्रका प्रवक्ता चित्र आचार्यका अनुसार हाल कक्षा ६ देखि ८ सम्म पाठ्यपुस्तक छपाइको काम जारी छ ।
कक्षा १ देखि १० सम्म नेपाली, सामाजिक, अंग्रेजी, नैतिक शिक्षा, पेसा, स्वास्थ्य जनसंख्या तथा वातावरण शिक्षा, गणित, विज्ञानलगायत १२५ वटा पाठ्यपुस्तक लागू भएका छन् । नयाँ शैक्षिक सत्रमा पाठ्यपुस्तकको अभाव हुन नदिने गरी छपाइको काम तीव्र रूपमा अघि बढाइएको केन्द्रका प्रवक्ता आचार्यले बताए । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ।