कमरेडहरुको कान्छी च्याप्ने कला
दुनियाँ बदल्न हिँडेका मान्छेहरु नै यसरी बद्लिए कि सुन्दा पनि घृणा लाग्ने । निर्धालाई लाग्ने कानुन शक्तिको आवरणमा ढाकिएका ती मानिसहरुको हकमा लागू नहुँदा अहिले थुप्रै चेली प्रताडित जीवन बिताउन बाध्य छन् ।
शुरु गरौ प्रचण्डकै निवासबाट । उहाँका प्रमुख स्वकीय सचिव हुन, जोखबहादुर महरा । आफैंमा सरल, सचेत र निष्ठावान राजनीतिक व्यक्ति । तर, उनैका छोराहरुले पत्नीलाई सडकमै बिचल्ली पारेर ‘राम्री’ च्याप्दै तमासा गरेका छन् । अक्सर माओवादी जनयुद्धको पृष्ठभूमिबाट आएका, त्यसमा पनि रोल्पालीहरु यस्तो क्रियाकलापमा बढी बद्नाम छन् ।
परिवर्तनका लागि लडिएको जनयुद्धको उर्वर भूमि मानिने रोल्पाको पछिल्लो पहिचान नै बनेको छ, पत्नीपीडक कम्युनिष्टको जिल्ला । जोखबहादुरका दुई छोरामध्ये जेठा हुन रत्न । म्याग्दीको बेनी आक्रमणमा एउटा खुट्टा गुमाएपछि उनलाई सीता शाहसंग दाम्पत्य जीवन विताइरहन मन लागेन र अर्कीसंग दिल बसेपछि पत्नीलाई बिचल्ली बनाए । अहिले सीता राष्ट्रिय खेलकुद परिषद्मा जागिरे छिन ।
कान्छा छोरा हुन, तुकमान । उनले १४ वर्षकै उमेरमा जनयुद्धमा लागेकी पत्रकार मनिषा श्रेष्ठसंग विवाह गरेका थिए । एकीकरणअघि अखिल क्रान्तिकारीका उपमहासचिव । तर, एकीकरणपछि बनेको अनेरास्ववियूमा तुकमान कतै राखिएनन । कारण हो, जेठी पत्नी मनिषा र दुई सन्तानलाई बिचल्लीमा पारेर कान्छी तामाङनीबाट बच्चा जन्माउनु र परिवारसंग सम्पर्कविहीन हुनु ।
जनयुद्धकालमा पाँचौ डिभिजन कमाण्डर थिए, सुनील थापा । ०६२ मंसिरमा रोल्पा जिनावाङको हवाई आक्रमणमा मारिए । उनकी श्रीमती रोल्पास्थित उनकै नाममा कायम गरिएको सुनील स्मृति गाउँपालिका उपाध्यक्ष छिन । छोरा विजय पार्टी जिल्ला कमिटी सदस्य थिए । पार्टी फुट्दा वैद्यतिर लागे । वैद्यबाट निस्क्रिय भए । आमा चाहिँ प्रचण्डकै पार्टीमा । विजयले पहिलो पत्नीबाट सन्तान जन्माएपछि अर्कीसंग घरजम गरे । पहिलो पत्नीको कुनै वास्ता छैन । अर्की श्रीमतीबाट पनि बच्चा जन्मिएका छन् । पहिलो पत्नी जनयुद्धबाटै आएकी हुन ।
उपराष्ट्रपति, सभामुख, अनेकथान मन्त्रीको जिल्ला । द्वन्द्वकालमा सांस्कृतिक विचलन गर्ने भन्दै श्रमशिविरमा पठाउने, मोसो दल्ने, चारपाटा मुड्ने यिनै अनि कम्युनिष्टको ‘क’ पनि उच्चारण गर्न नजान्ने नक्कली मायालुसंग रम्नु जम्नुपर्ने पनि यिनलाई । त्यही गाउँपालिकाका अध्यक्ष हुन, गुणिन्द्र घर्ती । उनका पनि दुई पत्नी छन् । बहुविवाहमा पार्टीबाट एक वर्ष निलम्बनमा परेका थिए । फुकुवापछि गाउँपालिका अध्यक्ष जिते ।
मणिराम बुढा गाउँपालिका पार्टी कमिटी अध्यक्ष हुन । उनका त झन् तीन चारवटी पत्नी । रोशनी शाहीसंगको सम्बन्धका कारण पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेपछि काठमाडौं आउँदा ‘हामीले गल्ती गर्यौं भनेको त ठीकै पो गरेका रहेछौं’ भन्दै हाँसिरहेका थिए ।
यो रोग प्रदेश ५ का आन्तरिक मन्त्री कुलबहादुर केसीसम्म पुगेको छ । उनका पीए हुन पवन कुँवर । छोरा र पत्नी दाङमा राखेर मन्त्रीको सेवा गर्न बुटवल बस्छन् । अर्कीसंग विवाह भएको छैन । तर, विवाहबाहेकका सबै कुरा चल्ने गर्छ । दाङमा बस्ने छोरा र पत्नीको मतलव छैन मात्र होइन, उनीहरु बुटवल पुग्दासमेत भेट्दैनन । यो रोगबाट विप्लव माओवादी पनि चोखो रहन सकेन ।
हाल नख्खु कारागारमा कैद मध्यकमाण्ड इन्चार्ज हेमन्तप्रकाश ओलीले जेठी पत्नीसंग सम्बन्ध विच्छेद नै नगरी कान्छी ल्याइदिए । माओवादी स्कुलिङका पूर्वमन्त्री रविन्द्र श्रेष्ठ सबै दृष्टिले सक्षम र उत्तम मानिएकी पत्नी हुँदाहुँदै अखिलकी कोरली केटी केन्द्रीय सदस्य सुपेक्षा सिलवाललाई च्यापेर हिँडेपछि राजनीति रुपले समाप्त प्राय स्थितिमा छन् । जनआस्था लेख्छ ।