आइजीपीकाे निर्देशनमा मिटरब्याजी राजपाका केन्द्रीय सदस्य यादव पक्राउ
काठमाडौं - प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालकाे निर्देशनमा राजपाका केन्द्रीय सदस्य रामबाबु राय यादव परेका छन्। घरजग्गा कब्जा गरेको आरोपमा सर्लाही प्रहरीले केन्द्रीय सदस्य यादवलाई नियन्त्रणमा लिएको हो ।
सर्लाहीका पीडितहरुले बुधबार गृहमन्त्रालयमा आएर आइजीपी खनालसँग गुनासो पोखेलगत्तै जिल्ला प्रहरी कार्यालय सर्लाहीले यादवलाई नियन्त्रणमा लिएको हो ।
आइजीपी खनालको निर्देशनलगत्तै यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यादव बरहथवा नगरपालिकाको मेयर पदको निर्वाचनमा तेश्रो भएका व्यक्ति हुन् ।
यादवसँगै तत्कालीन नयाँ शक्ति पार्टीका प्रदेशसभा उम्मेद्वार सञ्जय रौनियारले समेत ऋण दिँदा रजिस्ट्रेसन नै पास गरेर घरजग्गा नै कब्जामा लिने गरेको भन्ने उजुरी परेको थियो । यादवमाथि जनतालाई लाख ऋण दिएर करोडको तमसुक बनाउने गरेको आरोप समेत लाग्ने गरेको छ ।