सञ्चारमन्त्रीलाई गगनको काउन्टर : विधेयक पढेको छैन भनेर हेप्नी?, शब्द-शब्दमा छलफल गर्न तयार छु
काठमाडाैँ – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले सूचना प्रविधि विधेयकका शब्द-शब्दमा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटासँग छलफल गर्न आफू तयार रहेको बताएका छन्। नेता थापाले सूचना प्रविधि विधेयकबारे आफूहरु सडकदेखि सदनसम्म छलफल गर्न तयार रहेको समेत बताए ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले विधेयक नपढी गरिएको टिप्पणी गरिएको भनी दिएको सार्वजनिक अभिव्यक्तिको विरोध गर्दै थापाले विधेयकमाथि बहस गर्न चुनौती दिए । ‘मन्त्रीज्यूलाई भन्न चाहन्छु छलफल गर्ने हो ? संसदमा गर्ने हो ? माइतीघरमा गर्ने हो ? हामी तयार छौं’ उनले सञ्चारमन्त्रीकै शैलीमा भने ‘नपढी आयो भनेर हामीलाई हेप्नी ?,यो विधेयकको धारा-धारामा, दफा-दफामा छलफल गर्न तयार छु।’
उनले सूचना प्रविधि विधेयकले नागरिक स्वतन्त्रता कुण्ठित हुने पनि बताए।‘केही दिनमा सदन सुरू हुन्छ त्यहाँ हामी यो विधेयक रोक्न पहल गर्छौं,’ उनले भने, ‘हामीलाई तागत दिनुहोस्। विद्यार्थी, विपक्षी दलका साथीहरू, पत्रकार र नागरिकहरू सडकमा आउनुहोस्।’
उनले गुठी विधेयकका बेला पनि सांसदले सदनमा मात्रै रोक्न नसकेको बताए।‘गुठी विधेयकका बेला पनि संसदमा हाम्रो तागत पुगेको थिएन। तपाईंहरू सडकमा आउनुभयो सरकार झुक्यो,’ उनले भने, ‘अहिले पनि सडकमा आउनुपर्ने बेला भएको छ।’