नक्कली नोट बनाउने गिरहाे सीआईबीकाे फन्दामा
काठमाडौं - नक्कली नोट बनाउने एक गिरहाे केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)काे फन्दामा परेकाे छ।गिरहाेमा संलग्न ४ जनालाई सीआईबीद्वारा खटिएकाे प्रहरी टाेलीले पक्राउ गरेको हाे ।
पक्राउ पर्नेमा सल्यानका कमल भनिने कोवाराम बुढाथोकी, काभ्रेका बलबहादुर राना, डोटीका आर्यान खड्का र धनुकुटाका छत्रबहादुर लिम्बु रहेका छन् ।
सीआईबीका अनुसार नक्कली नोट बनाउने मुख्य योजनाकार खड्का हुने भने नोट बनाउने बलबहादुर हुन् । बुढाथोकी र लिम्बुले नोट बजारमा पुर्याउने काम गर्ने गरेको सीआईबीको भनाइ छ ।
प्रहरी टोलीले उनीहरुलाई ४ लाख १३ हजार नक्कली नोटसहित काठमाडौं र काभ्रेका विभिन्न ठाउँबाट नियन्त्रणमा लिएको हो । सीआईबीले पक्राउ परेका बुढाथोकीबाट २ लाख ९८ हजार, बलबहादुरबाट ९० हजार नक्कली नोट र रंगिन फोटोकपी मेसिन, एउटा पेपरमा ४ वटा नोट अटाएर फोटोकपी गरेका ३५ थान पेपर बरामद गरेकाे छ । खड्काबाट २५ हजार नक्कली नोट बरामद भएको छ ।
पक्राउ परेका चारै जनालाई मुद्रा सम्बन्धी कसूरअन्तर्गत अनुसन्धान भइरहेको सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) बेलबहादुर पाण्डेले जानकारी दिए ।