आइएसएसका तीन आतंककारीलाई काठमाडौंबाट पक्राउ गरी भारत लगियाे
काठमाडौं - आइएसएसका तीन आतंककारी काठमाडौंबाट पक्राउ गरी भारत लगिएकाे छ। दिल्ली प्रहरीको विशेष फोर्सले आइएसआइएसका तीन आतंककारी अब्दुल समद, ख्वाजा मोहिद्धिन र सैयद अलीलाई नेपालबाट पक्राउ गरी भारत लगेकाे हाे।
तामिलनाडुबाट फरार भएका उनीहरू नेपालबाट दिल्ली जादैछन् भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गर्न बजीराबाद इलाकामा योजना बनाए पनि उनीहरूलाई काठमाडौबाट पक्राउ गरेको स्रोतले बताएको छ । बिहीबार दिल्ली प्रहरीले तीनै जना आतंककारीलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
प्रहरीले तीनै जनालाई आत्मसमर्पण गर्न भनेपनि उनीहरुले प्रहरीमाथि गोली चलाएपछि जवाफी कारबाहीपछि तीनै जनालाई पक्राउ गर्न सफल भएको थियो । यस विषयमा नेपाल प्रहरीका प्रवक्ता शैलेस थापा क्षेत्रीसँग कुरा गर्दा उनले अाफूलाई कुनै जानकारी नभएकाे बताए।
दिल्ली प्रहरीको विशेष फोर्सका अनुसार यी तीनै जना आतंककारी तामिलनाडुमा एक हिन्दु नेताको हत्यामा समेत संलग्न थिए । २०१४ मा भारतका केही साथीहरुसँग मिलेर उनीहरुले तामिलनाडुका हिन्दु नेता सुरेश कुमारको हत्या गरेर जेल चलान भएका तीनै आतंककारी धरौटीमा रिहा भई १२ र १३ डिसेम्बरमा भागेर नेपाल गएकाे दिल्ली प्रहरीकाे भनाइ छ।
उनीहरु नेपालमा १५/२० दिनको बसाईपछि दिल्लीमा रहेका साथीहरुलाई भेट्न जाने योजनामा रहेको प्रहरीले जनाएको छ ।