विदेश

इरानद्वारा शान्ति सेनाकै एयरबेसमा मिसाइल प्रहार

इरानद्वारा शान्ति सेनाकै एयरबेसमा मिसाइल प्रहार

काठमाडौंः अमेरिकासँग तनाव बढिरहेका बेला इरानले बुधबार बिहान इराकको इर्बेलस्थित अमेरिकी एयरबेसमा मिसाइल आक्रमण गरेको छ । उक्त एयरबेसमा नेपाली शान्ति सेना पनि खटिएका छन् । इराकस्थित दुई अमेरिकन एयरबेसमा २२ वटा मिसाइल प्रहार गरेको इरानले नेपाली सैनिक खटिएको सिटी अफ इर्बेलस्थित एयरबेसमा पाँचवटा मिसाइल प्रहार गरेको थियो । त्यस्तै अद असद एयर बेसमा १७ वटा मिसाइल आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

मिसाइल आक्रमणबाट भएको क्षतिको विवरण सार्वजनिक नभए पनि त्यहाँ रहेका नेपाली शान्ति सैनिक भने सुरक्षित रहेको नेपाली सेनाले जनाएको छ। ‘नेपाली शान्ति सैनिक खटिएकै एयरबेसमा इरानले मिसाइल आक्रमण गरेको छ तर नेपाली शान्ति सैनिक सुरक्षित छन्,’ नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले भने । उक्त एयरबेसको एउटा क्षेत्रमा अमेरिकी सैनिकले सुरक्षा दिइरहेको र अर्को क्षेत्रमा नेपाली शान्ति सैनिक रहेको पाण्डेले जानकारी दिए । इराकमा प्रमुख सेनानी (कर्नेल) को नेतृत्वमा ७७ जना शान्ति सैनिक खटिएका छन् ।

अमेरिकी सुरक्षा फौजले शुक्रबार ड्रोन आक्रमणबाट इराकमा इरानी सैन्य फोर्सका कमान्डर जनरल क्वासिम सुलेमानीको हत्या गरेको बदलामा इरानले अमेरिकी सैन्य बेसमा आक्रमण गरेको हो । अमेरिकी सैन्य बेसमा इरानले निरन्तर मिसाइल आक्रमण गरेपछि नेपाली सेनाले अनमिन मिसनअन्तर्गत किर्कुक र इर्बेलस्थित युएन बेसमा तैनाथ नेपाली गार्ड युनिटलाई आवश्यक सुरक्षा सतर्कता अपनाउन निर्देशन दिएको छ । संयुक्त राष्ट्रसंघ मातहत रहेका उनीहरुलाई राष्ट्रसंघले ‘नो मुभमेन्ट’को निर्देशन दिएको छ । अहिले हाम्रा सैनिक सुरक्षित अवस्थामा छन् । उनीहरुलाई थप सुरक्षा सजकता अपनाउन निर्देशन दिएका छौं,’ पाण्डेले भने । यो खबर आजको नागरिक दैनिकबाट लिइएको हो । 

इराक मिसाइल आक्रमण इरान शान्ति सेना

विशेष