हिटर,गिजर र मकलको प्रयोगबाट उपत्यकामा एक महिनामा ३ जनाको मृत्यु
कीर्तिपुर–८ सुन्दरबस्ती डेरा गरी बस्ने धादिङ नौबिसे–९ रुपाकोटका ४५ वर्षीय नवराज रन्जितकारले ३० मंसिरमा दुई महिनाकी सुत्केरी श्रीमतीलाई सेक्न कोठाभित्र कोइला बाले । बाहिरबाट चिसो नआओस् भनेर झ्यालढोका पनि थुने । त्यसपछि श्रीमान श्रीमती दुवै मिलेर काखे बालकलाई सेकाए । कोइलाको राप ननिभ्दै खाना खाए र सुते ।
कोइलाको न्यानोले छिट्टै निदाएका नवराज एकैचोटि भोलिपल्ट बिहान मात्रै ब्युँझे । ब्युँझिदा उनले टाउको दुखेको अनुभव गरे । आँखा पनि धमिलोधमिलो भएको थियो । तर, पनि सकी नसकी उठे । सँगै सुतेकी श्रीमती शर्मिलालाई पनि उठान खोजे । तर, उनी उठिनन् । छोरा रमेशलाई पनि झक्झकाए उनी पनि चलमलाएनन् । अघिल्लो रात बालेर छोडेको कोइलाका कारण कोठामा अक्सिजन कमी भएर दुवै आमाछोराको मृत्यु भइसकेको थियो ।
ललितपुर सातदोबाटोस्थित सुरिवा गल्र्स होस्टलमा बस्ने पर्सा जगनाथपुर–४ की १९ वर्षीया जेनेथ चौहान नुहाउन १९ पुसमा बाथरुम छिरिन् । तातोपानीका लागि ग्यास गिजर अन गरिन् । बाथरुमको झ्याल ढोका बन्द गरिन् । तातोपानीले बाथटपमा भरिन् र बाथटपको तातोपानीमा डुबुल्की मरिन् । ११ बजे बाथरुम छिरेकी उनी निक्कै बेरसम्म पनि बाहिर ननिस्केपछि खोजी भयो । यो खबर होस्टल वार्डेनसम्म पुग्यो । होस्टल वार्डेनसहित उनका सहपाठी बाथरुमको ढोका ढक्ढकाउन थाले । तर, खुल्दै खुलेन । अन्ततः बाथरुमको झ्याल फोडियो । भित्र हेर्दा जेनेथ ढलेको अवस्थामा भेटिइन् । उपचारका लागि उनलाई तत्काल अस्पताल लगियो । तर, उनको उपचार हुन सकेन ।
गत शुक्रबार भक्तपुर सूर्यविनायक दधिकोटकी ६७ वर्षीया रेणुकाकुमारी बाँस्तोला जाडो भगाउन कोठामै आगो ताप्दै थिइन् । यही क्रममा उनको फरियामा आगो सल्कियो । निभाउन खोज्दा झनै दन्कियो । नजिकै थिए उनका ३५ वर्षीय छोरा राजेन्द्र बाँस्तोला । उनले दन्किएको आगो हातको पन्जाले निभाउन खोजे । आगो झनै दन्कियो । बल्लतल्ल आगो नियन्त्रणमा आयो । यस वेलासम्म रेणुको आधा शरीर जलिसकेको थियो । आगो निभाउने राजेन्द्रको पनि दुवै पन्जा डडिसकेका थिए । रणुको कीर्तिपुरस्थित अस्पतालमा उपचार भइरहेको छ । सामान्य उपचारपछि राजेन्द्र भने घरमा आराम गरिरहेका छन् । यो खाब्नर आजको नयाँ पत्रिका दैनिकमा टेकराज थामीले लेखेका छन।