माेबाइल ब्यालेन्सबाटै सामान किन्न पाइने, यस्तो छ तरिका
काठमाडौंः मोबाइलमा रहेको ब्यालेन्सबाट पनि सामान किन्न मिल्ने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले यस्तो सेवाका लागि सहजीकरण गर्न कार्यविधि जारी गरेको छ । प्राधिकरण सञ्चालक समितिले पारित गरेको निर्देशिका प्रमाणीकरण भइसकेको छ ।
मोबाइल ब्यालेन्स प्रयोग गरी विद्युतीय माध्यमबाट वस्तु तथा सेवा खरिद गर्नेसम्बन्धी कार्यविधिमा एक पटकमा १ हजार रुपैयाँ र महिनामा १० हजार रुपैयाँसम्मका सामान तथा सेवा मोबाइलको ब्यालेन्स प्रयोग गरी खरिद गर्न सकिनेछ ।
तत्कालका लागि मोबाइल ब्यालेन्स प्रयोग गरी वस्तु खरिद गर्न नसके पनि अनलाइन कन्टेन्ट खरिदलाई लक्ष्य गरी कार्यविधि ल्याइएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए । अहिले बैंकिङ प्रणालीमार्फत मोबाइल वालेटमा रकम ट्रान्सफर गरी वस्तु तथा सेवा खरिद गर्न सकिने प्रविधि सञ्चालनमा छन् ।
मोबाइल ब्यालेन्समार्फत ग्राहकले वस्तु तथा सेवा खरिदका लागि रिचार्ज कार्ड वा अन्य विधिबाट मोबाइलमा ब्यालेन्स हालेर त्यसैमार्फत कारोबार गर्न सकिन्छ । यद्यपि यस्तो सुविधा अहिले केही दूरसञ्चार कम्पनीले दिइरहेका छन् ।
मोबाइल प्रयोगकर्ताले अनलाइन गेम, सीआरबीटी तथा पीआरबीटीजस्ता दूरसञ्चार सेवा प्रदायकले उपभोक्तालाई बिक्री गर्ने सेवा खरिदका लागि कार्यविधि ल्याइएको अर्यालले बताए । कार्यविधिले यस्ता सेवा खरिदलाई नियमन गर्ने प्रावधान राखेको छ । यो खबर आजको कान्तिपुर दैनिकबाट लिइएको हो ।
मोबाइल मोबाइल ब्यालेन्स