News

१२२ चिनियाँ नागरिक ४ वर्ष नेपाल आउन नपाउने गरी निष्कासन

१२२ चिनियाँ नागरिक ४ वर्ष नेपाल आउन नपाउने गरी निष्कासन

काठमाडौंः पर्यटक भिसामा नेपाल आएर अवैध गतिविधिमा संलग्न १२२ चिनियाँ नागरिकलाई चार वर्ष नेपालमा प्रवेश गर्न नपाउने गरी आज निष्कासन गरिएको छ । अध्यागमन विभागका अध्यागमन अधिकृत पवन गुप्ताले उनीहरुलाई आज साँझ ६ र ७ बजेको चिनियाँ विमानमार्फत फिर्ता पठाइएको जानकारी दिए । एउटा विमानमा ४२ र अर्कोमा ८० जना राखेर विमान चीन उडेको छ ।

नेपालमा बसेर गैरकानूनी क्रियाकलाप गरेको भन्दै प्रहरीले यही पुस ७ गते काठमाडौँको मनमैजु, महाराजगञ्ज र बूढानीलकण्ठ क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको थियो । उनीहरुले नेपाल बसेर चीनमा अवैध गतिविधि सञ्चालन गरेका थिए । पुस २० गते अभद्र व्यवहारअन्तर्गत मुद्दामा काठमाडौँका प्रजिअ जनकराज दाहालको इजलासले जनही रु एक हजार जरिवानाको फैसला सुनाएको थियो ।

त्यसलगत्तै प्रहरीले उनीहरुलाई अध्यागमन विभागमा बुझाएको थियो । अध्यागमन विभागले प्रवेशाज्ञा बाँकी रहेकाको हकमा रु एक हजार र प्रवेशाज्ञा सकिएर पनि अवैधरुपमा बस्दै आएकालाई रु दुई हजार जरिवाना तिराउने निर्णय गरेको थियो । सो जरिवाना चिनियाँ दूतावासले तिरिदिएको छ ।

विभागका अर्का अध्यागमन अधिकृत वैकुण्ठराज रेग्मीले उनीहरुलाई चार वर्ष नेपाल प्रवेश गर्न नपाउने गरी फिर्ता पठाइएको जानकारी दिए । अध्यागमन ऐन २०४९ को नियमावली २०५१ र अध्यागमन कार्यविधि २०६५ मा टेकेर सो निर्णय गरिएको उनले बताए । ऐनमा कसुरको प्रकृतिअनुसार रु ५० हजारसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ । विभागका अनुसार ३४ जनाको भने प्रवेशाज्ञा सकिएको फेला परेको छ । नेपालस्थित चिनियाँ राजदूतावासले उनीहरुको सबै प्रवेशाज्ञा (भिसा) रद्द गरेको छ । रासस

चिनियाँ नागरिक निष्कासन पर्यटक भिसा चिनियाँ विमान

विशेष