बाल बलात्कारमा विदेशी जाकिए
विदेशी पाहुनाप्रति नेपालीको श्रद्धा, सम्मानभावलाई दुरुपयोग गर्दै यहाँ कहिले चिनियाँले बैंक ह्याकिङ त कहिले युरोपेली–अमेरिकी पर्यटकले बाल यौनदुराचार जस्तो निकृष्ट काम गरिरहेका छन्। यसैक्रममा अस्ति ३९ वर्षीय अविवाहित अमेरिकी नागरिक ९ देखि ११ वर्षसम्मका तीन बालिका र केही बालकलाई यौन दुराचार र जबरजस्ती करणी गरेको अभियोगमा पुर्पक्षका निम्ति थुनामा पठाएका छन् । १२ वर्षदेखि ५६७४७२५३५ नम्बरको राहदानीमा निरन्तर नेपाल आउने जाने गरेका ४० वर्षीय ज्याक्सन लोयड मुडीको किस्सा हो यो ।
नेपाल आएको बेला सिनामंगल वरिपरिका होटलमा बस्ने गर्थे । त्यहीँका कवाडी संकलन गर्ने मधेशी समुदायका बालबच्चालाई होटलका कोठामा बोलाउने, चकलेट खुुवाउने । त्यसक्रममा तीन बालिकामध्ये दुईटी कोसिस गरेर, एउटीलाई बलात्कार नै गरेको अभियोगमा प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले मंसिर २२ गते सिनामंगलस्थित मेमोरियल गेष्ट हाउसको कोठा नम्बर १०४ बाट उनलाई पक्राउ र बालबालिकाको उद्धार गरेको थियो ।
प्रहरीले उनीबारे २७ दिन अनुसन्धान गरेपछि गत साता जिल्ला अदालतमा पेश गर्यो । आइतबार र सोमबारको दुईदिने थुनछेक बहसपछि उनलाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो । स्वदेशीको हकमा तीन वर्षभन्दा बढी कैद हुने कसुर भए जेल चलान हुने कानुनी व्यवस्था छ । विदेशीको हकमा भने एक वर्षभन्दा बढीलाई जेल चलान गरिन्छ । यदि ज्यासनले उच्च अदालत पाटनमा पुनरावेदन गरेर दोषी ठहर भए भने आजन्म कारावासको सजाय भोग्नुपर्छ ।
उनले अदालतमा आफूले ती बालबालिकालाई मोटरसाइकलमा लगेर घुमाउने, चकलेट, लुगा दिने गरेको अर्थात माया गरेको बताएका छन् । त्यसलाई यौन शोषण भन्न नमिल्ने उनको जिकिर थियो । ज्यासनले अदालतको बन्द इजलासमा दोभाषेको सहयोगमा सुकसुकाउँदै भनेका थिए– ‘मैले माया गर्ने कुरा तिनका बाबुआमालाई पनि थाहा थियो । यदि गलत मनसाय राखेको भए किन आफ्ना केटाकेटीलाई मकहाँ आउन दिन्थे ?’ उनी विरुद्ध बालबालिका अभिभावकबाट जबरजस्ती करणी उद्योग र बालयौन दुराचारमा जाहेरी दर्ता भएको थियो ।
उनलाई पुर्पक्षका निम्ति जेल चलान गर्ने आदेश सिरहाबाट भर्खरै काठमाडौं आएका न्यायाधीश प्रकाश ढुंगानाले सुनाएका हुन । उनको तर्फबाट एकजना महिला र एक युवक वकिलले बहस गरेका थिए । मुडीकाअनुसार सीआईबीले थर्काएर बयान लिएको थियो । ‘यु....अमेरिकन...’ भन्दै सीआईबीका एक अधिकारीले ‘तँलाई जसरी पनि थुन्छु’ भनेर बयान लिएको उनले अदालतमा बताए ।
इजलाशबाट सोधियो– ‘सिंगो अमेरिकी जातिविरुद्ध उत्तेजित हुने गरी सीआईबीका प्रहरीको तपाईंसंग कुनै दुश्मनी थियो ?’ उनले जवाफ दिए– ‘त्यस्तो त होइन श्रीमान ।’ पीडित बालबालिकाले दिएको बयानमा ज्यासनले पटक पटक आफू बस्ने होटलमा लगेको, उनी नांगिएर आफूहरुलाई पनि नांगिन बाध्य बनाएको बताएका छन् । अहिलेको फौजदारी कानुनअनुसार बलात्कार ठहर हुन स्त्री जातिको यौनाङ्गमा पूर्ण रुपमा प्रवेश आवश्यक मानिदैन । घर्षणकै आधारमा पनि बलात्कार ठहर हुने व्यवस्था छ ।
चिकित्सकले स्वास्थ्यपरीक्षण रिपोर्टमा बलात्कार हुने अवस्था बारे केही रिपोर्ट नदिए पनि पीडित बालबालिका र होटल कर्मचारीको बयानका आधारमा ज्यासनलाई तत्कालका लागि दोषी करार गरिएको हो । ज्यासनले भनेका छन– ‘सम्बन्ध थियो । माया गरेको हो । शोषण गरेको होइन ।’
अर्कातिर पाटन उच्च अदालतले पूर्वसभामुख कृष्णबहादुर महराको काठमाडौं जिल्ला अदालतमा विचाराधीन करणी उद्योगसम्बन्धी मुद्दा एक महिनाभित्र किनारा लगाउन आदेश गरेबमोजिम यही २७ गतेका निम्ति पेशी तोकिएको छ । मुद्दा काठमाडौंका तात्कालिन मुख्य न्यायाधीश सुदर्शनराज पाण्डेले हेरेका थिए । उनी बढुवा भएर उच्च अदालत गइसकेका छन् ।
अब यसलाई अर्का मुख्य न्यायाधीश अमरप्रसाद पौडेलले हेर्नुपर्ने भएको छ । उनी पनि उमेरहदका कारण माघ अन्तिममा अवकाश हुँदैछन् । त्यसैले अब कतै सरुवा वा बढुवा भएर जानु नपर्ने, कसैसंग डराउन, हच्किन पर्ने अवस्था नभएकाले कारण देखेको, लागेको, पुगेको र कानुनले ठहर्याए बमोजिम निर्णय गर्न कुनै कठिनाइ छैन ।
साभार : जनआस्था साप्ताहिक ।