News

‘अस्ट्रेलियाबाट एक लाख पर्यटक नेपाल पठाइदिनुस्’

‘अस्ट्रेलियाबाट एक लाख पर्यटक नेपाल पठाइदिनुस्’

काठमाडौंः संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले नेपाल भ्रमण वर्षमा अष्ट्रेलियाबाट एक लाख पर्यटक पठाउन अनुरोध गरेका छन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएन) अस्ट्रेलिया र भिक्टोरियामा रहेको नेपाली महावाणिज्य दूतावासको कार्यालयले संयुक्तरुपमा बुधबार आयोजना गरेको ‘भ्रमण वर्ष सन् २०२० को अवसर र चुनौती’ विषयक कार्यक्रममा मन्त्री भट्टराईले  नेपालको पर्यटकीय महत्वका बारेमा विश्वभर सन्देश प्रवाह गर्न विदेशमा रहेका नेपालीलाई आग्रह गरे । 

उनले नेपाल र अस्ट्रेलियाको बीचमा सिधा हवाई उडानका लागि सरकारले काम अघि बढाएको उल्लेख गर्दै त्यो सम्भव हुँदा पर्यटकको सङ्ख्या बढाउन र यहाँ भएका नेपालीलाई पनि सहज हुने बताए । अस्ट्रेलियामा भएको आगलागीबाट नेपाल सरकार मर्माहत भएको बताउँदै उनले यस दुःखको घडीमा सहयोगमा जुट्न नेपाली समुदायसँग आग्रह पनि गरे । 

कार्यक्रममा अस्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहालले भ्रमण वर्ष सफल बनाउन अस्ट्रेलियामा रहेका नेपालीको उत्साह सराहनीय रहेको भन्दै सबैको साथ र सहयोग रहेमा लक्ष्यअनुसार पर्यटक नेपाल भित्र्याउन सकिने बताए । उनले आफू अस्ट्रेलिया आए देखिनै यहाँका नेपालीको साथबाट उत्साहित भएको भन्दे खुशी व्यक्त गरे । 

गैरआवासीय नेपाली महासङ्घका पूर्वअध्यक्ष एवं प्रमुख संरक्षक शेष घलेले आफ्ना परिवार र साथीभाइ भेट्न नेपाल जान सबैलाई आग्रह गरे । उनले नेपालीलाई आफू स्वदेश जान र आफूले चिनेका साथीभाइलाई लैजान पनि अनुरोध गरे । अस्ट्रेलियाका सङ्घीय सांसद ग्रलाडीसले पनि अस्ट्रेलियाको अर्थतन्त्रमा आप्रवासीको भूमिका महत्वपूर्ण रहेको भन्दै यस वर्ष आफू पनि नेपाल जान इच्छुक रहेको बताए । 

गैरआवासीय नेपाली सङ्घ अस्ट्रेलियाका अध्यक्ष केशव कँडेलले सरकारको लक्ष्यअनुसार पर्यटक भित्र्याउन आफूहरु लागि परेको बताए । साथै अस्ट्रेलियाको आगलागी पीडितका लागि सङ्घले ५० हजार डलर सहयोग गर्न लागेको पनि जानकारी दिए । सङ्घकै पहलमा मेलबर्न र सिड्नीमा एक–एक वटा बसमा भ्रमण वर्ष अङ्कित स्टिकर पनि टाँस्ने कार्यक्रम रहेको उनको बताए ।  

अस्ट्रेलिया योगेशकुमार भट्टराई नेपाल भ्रमण वर्ष

विशेष