स्थितिगत्यात्मक प्रगतिवाद परिचर्चाको चौथो भाग सम्पन्न
समाज विकासको सिद्धान्त ‘स्थितिगत्यात्मक प्रगतिवाद’ को परिचर्चा श्रृंखलाको चौथो भाग शनिवार सम्पन्न भएको छ । प्रगतिवादी युवा समाज नेपालले कार्यक्रमको आयोजना गरेको थियो ।
युगद्रष्टा डा. निर्मलमणी अधिकारीद्वारा अभिनिर्मित ‘स्थितिगत्यात्मक प्रगतिवाद’ लाई प्रगतिवादी युवा समाज नेपालले मार्गनिर्देशक सिद्धान्त वनाएको छ।
परिचर्चा कार्यक्रममा सहृदयता अन्तरराष्ट्रियका सल्लाहकार दुर्गा प्रसाद पोख्रेल र सहृदयता अन्तरराष्ट्रियको क्यानाडा संयोजक डिल्लीराम तिमिल्सिना प्रमुख वक्ता रहेका थिए ।
संयोजक तिमिल्सिनाले स्थितिगत्यात्मक प्रगतिवाद सिद्धान्तले समाजप्रति सबै समुदाय उत्तरदायी हुनुपर्छ भन्ने निर्देशन गरेको बताए। यसले सबै जातजाती र समुदायलाई समेट्ने पनि उनको भनाई छ। संसारलाई एउटामात्र दृष्किोणले होइन, समग्र रुपमा हेरियो भने मात्र जिवन र जगत सही रुपमा बुझ्न सकिने तिमिल्सिनाले वताए ।
मानव मस्तिष्क हरेक समस्यालाई समाधान गर्न सक्षम रहेको भन्दै स्थितिगत्यात्मक प्रगतिवादले पनि हाल देखिएका समस्याहरु समाधान गर्दै भविष्यको मार्गनिर्देशन गर्ने उनको भनाई छ।
अर्का वक्ता दुर्गा प्रसाद पोख्रेलले हाम्रा दर्शन तथा सिद्धान्तहरुलाई मुलधारमा ल्याउनुपर्नेमा जोड दिए। पोख्रलले हाम्रा धरोहरहरुको संरक्षण गर्दै अघि बढ्यौं भने भावि पुस्तालाई पनि मार्गदर्शन हुने वताए । कौटिल्यले देखाएको जस्तो युगको स्थितिगत्यात्मक भएर पुनर्जागरण गर्नुपर्ने पोख्रलको भनाई छ ।
जीवनलाई सुखमय बनाउने ज्ञान हामीसँगै भएकाले हाम्रा दर्शनहरुलाई अघि बनाउनुपर्नेमा पोख्रेलले जोड दिए।
प्रगतिवादी युवा समाज नेपालका अध्यक्ष धिरेन्द्र चन्द सोडारीको अध्यक्षतामा आयोजित कार्यक्रममा उपाध्यक्ष उत्तम गुरुङले सहजीकरण गरेका थिए । कोषाध्यक्ष एनिका राईले कार्यक्रमको सहजिकरण गरेकी थिईन।