अनसन छोडर कोरोना विरुद्धको लडाईमा होमीन डा केसीलाई सरकारको आग्रह
सरकारले स्वास्थ्य क्षेत्रका विभिन्न माग राखी अनशनरत प्रा डा गोविन्द केसीलाई अनशन फिर्ता लिन आग्रह गरेको छ । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले प्रा डा केसीले विगतदेखि उठाउँदै आएका धेरै माग पूरा भएर कार्यान्वयनमा गइसकेको बताए।
परराष्ट्रमन्त्री ज्ञवालीले चिकित्सा शिक्षासम्बन्धी ऐन र उक्त ऐनअनुसार उच्चस्तरीय आयोग बनेर काम शुरु भइसकेको र सातै प्रदेशमा सरकारी तवरबाट मेडिकल कलेज खुल्ने विषय पनि सम्बोधन भइसकेको उल्लेख गरे।
सिङ्गो मुलुक कोरोना भाइरस सङ्क्रमणविरुद्धको लडाइँमा रहेका अवस्थामा अनशन, धर्ना, हडताल र सत्याग्रह सुहाउँदो विषय नभएको बताउँदै उनले केही विषय बाँकी भए पछि छलफल गर्न सकिने धारणा व्यक्त गरे। मन्त्री ज्ञवालीले प्रा डा केसी र उनका साथीहरुलाई अहिले अनशन फिर्ता लिई कोरोनाविरुद्धको लडाइँमा होमिन आग्रहसमेत गरे। (रासस)