सरकारसँग ८ वुँदे सहमति गरेर २८औं दिन डा. केसीले तोडे अनशन
चिकित्सा शिक्षा र सेवा सुधारको माग राख्दै अनशनरत डा. गोविन्द केसीले आईतवार त्रिवि शिक्षण अस्पतालका कर्मचारी विकास नेपालीको हातवाट जुस खुवाएर अनशन तोडेका छन् । शनिबार राति सरकारसँग भएको ८ बुँदे सहमतिपछि २८औं दिनमा उनले अनसन तोडेका हुन् । यो उनको १९औं अनशन हो।
केसीलाई जुस खुवाउने अस्पतालका ४६ वर्षीय कर्मचारी कोरोना संक्रमणपछि निको भएका थिए । केसीको स्वास्थ्य अवस्था नाजुक भएका कारण अहिले त्रिवि शिक्षण अस्पतालको आईसीयूमा उपचार भइरहेको छ ।
उनले अनशन तोडनुअघि प्रधामन्त्री केपी शर्मा ओली, सरकारी वार्ता टोली, शुभचिन्तक तथा सहयोगीलाई धन्यवाद दिएका थिए । अनशन तोड्नुअघि डा. केसीका सहयोगी प्रितम सुवेदीले सरकारसँग भएको ८ बुँदे सहमति पत्र पढेर सुनाएका थिए ।
शनिबार राति त्रिवि शिक्षण अस्पतालमा डा. केसी र सरकारी वार्ता टोलीका संयोजक तथा शिक्षा सचिव गोपीनाथ मैनालीले ८ बुँदे सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।
सरकार र डा. केसी पक्ष टोलीबीच शनिबार दिनभर वार्ता हुन सकेको थिएन । शुक्रबार रातिको वार्ता बिनानिष्कर्ष टुंगिएको थियो । शिक्षामन्त्री गिरिराजमणि पोखरेल सरकारी वार्ता टोलीसहित शनिबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका थिए ।
प्रधानमन्त्री ओलीले आन्तरिक रूपमा आईओएमकी डिन डा. दिव्यासिंह शाहमार्फत डा. केसीसँग संवाद अघि बढाएका थिए । उनी प्रधानमन्त्रीकी निजी चिकित्सक समेत हुन । प्रधानमन्त्रीकै दबाबमा उनी डिन नियुक्त भएकी थिइन ।
डा. केसीले ६ बुँदे माग राखेर जुम्लामा भदौ २९ गते अनशन थालेका थिए । स्वास्थ्य अवस्था बिग्रँदै गएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आईसीयू कक्षमा अनशनरत उनलाई नेपालगन्ज हुँदै असोज ६ गते काठमाडौं ल्याइएको थियो ।