प्रदेश १ मा दसैं सम्मका लागि लकडाउन गर्न चिकित्सकको सुझाव
प्रदेश १ मा दिन प्रतिदिन कोरोना संक्रमणको दर र मृत्यु बढ्दै गएपछि चिकित्सकहरुले दसैंसम्मका लागि लकडाउन गर्न सुझाव दिएका छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका विज्ञ चिकित्सकहरुले संक्रमण रोकथामका लागि लकडाउनका विषयमा विचार गर्न जनप्रतिनिधि र जिल्ला प्रशासनलाई सुझाव दिएका हुन्।
प्रतिठानको कोभिड अस्पतालमा १० वटामात्र आईसियू र भेन्टिलेटर छन् । ती पनि आधामात्र पूर्णरुपमा संचालित छन् । सय जना क्षमताको आइसोलेसन वार्ड रहेको छ । तर आइसोलेसनमा राख्नु पर्ने र अक्सिजन दिएर उपचार गर्नुपर्ने संक्रमितको संख्या भने दोब्बर हुन थालेपछि चिकित्सकहरुले लकडाउन गर्न सुझाव दिएका हुन् ।
प्रदेश १ र २ का गम्भीर कोरोना संक्रमितलाई प्रतिष्ठानमा रिफर गर्ने गरिएपनि दुई सातायता आइसोलेसन, आईसियू सबै भरिएकाले बेड नै नपाउने अवस्था आएको चिकित्सकहरुले बताएका छन् । संक्रमितहरुलाई चाहिने अक्सिजन भएको बेड नै अभाव भएपछि धान्न नसकेको प्रतिष्ठानका श्वासप्रश्वास तथा फोक्सो रोग विशेषज्ञ एवं कोरोना उपचारमा सक्रिय डा. दिव्यराज मिश्रले बताए ।
उनले भने, ‘एक लाख जनसंख्यमा २ सय ५० भन्दा बढी सक्रिय बिरामी भएमा जनस्वास्थ्यको दृष्टिकोणले त्यो अत्यन्तै जोखिमको अवस्था हो । तर धरानमै अढाई सय मात्र होइन, एक्टिभ केस ६ सय हाराहारी पुगिसक्यो । कोरोनाका सिकिस्त बिरामीलाई पूर्वमा नै अक्सिजन भएको बेड पाउनै गाह्रो भएको छ ।’ बेड नभएपछि बचाउन सकिने बिरामीको पनि मृत्यु हुन सक्नेमा उनीहरुले सचेत गराएका छन् ।
कोरोना संक्रमितको उपचारका लागि जति बेड बनाइएको छ त्यसले नधान्ने अवस्था आएकाले बिरामीको संख्या घटाउन लकडाउन गर्नुपर्ने चिकित्सकको सुझाव छ। त्यसो नगरे मानवीय चहलपहल भइरहने र संक्रमित बढीरहदा झन् भयावह बन्ने मिश्रले बताए ।
प्रतिष्ठानका सहायक अस्पताल निर्देशक डा प्रमोद बरालले अस्पतालहरुको क्षमता अनुसारको बेड भरिसकेकाले चुनौती भएको बताए ।
जनस्तरमा मास्क नलगाउने, सामाजिक दूरी कायम नगर्ने, भीडभाड गर्ने, पार्टी र कार्यक्रमहरु गर्ने गरेकोले संक्रमण फैलिँदै गएको उनले बताए । संक्रमितको संख्या बढ्नबाट रोक्ने तत्कालको उपाय छोटो लकडाउन गर्नु मात्र भएको उनको धारणा छ।