संसदिय समितिमा किसानः श्रीराम सुगर मिल्सले भुक्तानी नदिएको गुनासो
रौतहटका उखु किसानले प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा ज्ञापनपत्र बुझाउँदै श्रीराम सुगर मिल्सले दिन वाँकी रकम भुक्तानीको ब्यवस्था मिलाई दिन माग गरेको छ ।
आइतबार सिंहदरबारस्थित समितिको कार्यालयमा उखु उत्पादक संघका सचिव सफीन्द्रप्रसाद यादवले सभापति बिमलप्रसाद श्रीवास्तवलाई ज्ञापनपत्र बुझाएका छन्।
०७७ साउन ११ गते सूचना प्रकाशन गरी श्रीराम सुगर मिल्स बन्द भएको जानकारी गराएको थियो । उद्योगले वाँकी रहेको भुक्तानी दिन समेत असक्षम रहेको जनाएको छ ।
उद्योगले भुक्तानी दिनुपर्ने ४१ करोड रुपैयाँ दशैंअघि नै पाउने व्यवस्था मिलाइदिन किसानले माग गरेका छन् । उद्योगका श्रमिक तथा कर्मचारीले पनि पाँच महिनाको तलब–भत्ता तथा डेढ वर्षको सञ्चयकोष गरी करिब ४ करोड रुपैयाँ नपाएको भन्दै सबै पैसा भुक्तानी गराउन माग गरेको छ ।
किसानहरुले आर्थिक वर्ष २०७१÷०७२ को १२ करोड रुपैयाँ, आर्थिक वर्ष २०७५÷०७६ को २८ करोड ५० लाख रुपैयाँ र आर्थिक वर्ष २०७६÷०७७ को ५० लाख रुपैयाँ गरी कुल ४१ करोड रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको बताएका छन् ।
रौतहटमा करिब १८ हजार किसानले उखु खेती गर्दै आएको तर उखु मिल नै बन्द भएपछि सबै किसानको आम्दानी बन्द हुँदा हजारौं घरपरिवारको आयस्रोत बन्द भएको किसानहरुको वताएका छन् ।